Butwal Today

जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा कमी

१७ कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १७ कार्तिक ।

गत भदौमा भएको जेनजी आन्दोलन पछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा घटेको छ ।

वैदेशिक रोजगार विभागका तथ्यांकअनुसार भदौको तुलनामा असोज महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १२ हजार ४७१ ले घटेको पाइएको हो । विभागका अनुसार भदौमा ४५ हजार ७३२ जना नेपालीले नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका थिए । तर असोजमा यो संख्या घटेर ३३ हजार २६१ जनामा सीमित भएको छ ।

नयाँ स्वीकृति घटेपनि पुनः श्रम स्वीकृति ९नवीकरण० लिनेको संख्या भने बढेको देखिएको छ । भदौमा २२ हजार २४० जनाले पुनः श्रम स्वीकृति लिएका थिए भने असोजमा यो संख्या बढेर ३१ हजार ३७३ जना पुगेको विभागको तथ्यांकले जनाउँछ ।

जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली कामदारका भिसा प्रक्रियामा कडाइ गरेपछि त्यहाँ जानेको संख्या तीव्र रूपमा घटेको छ । भदौमा १९ हजार ६०२ जना यूएई गएका थिए भने असोजमा मात्र ९ हजार ८९८ जना पुगेका छन् । यसरी ९ हजार ७०४ जनाको कमी आएको विभागले जनाएको छ ।

त्यस्तै साउदी अरब जाने श्रमिकको संख्यामा पनि कमी आएको छ । भदौमा ६ हजार २३ जनाले श्रम स्वीकृति लिएका थिए भने असोजमा यो घटेर २ हजार ९८४ जनामा पुगेको छ ।

यसैबीच कतार जानेको संख्या पनि घटेको देखिए पनि मलेसिया, ओमान, कुवेत लगायत देशहरूमा जानेको संख्या भने केही वृद्धि भएको विभागले जनाएको छ ।