© २०२३
काठमाडौं, १७ कात्तिक ।
जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ ।
आयोगको टोली सोमबार नख्खु कारागार पुगेको थियो र थुनामा रहेका पूर्व गृहमन्त्री लामिछानेसँग सोधपुछ गरेको हो ।
आयोगले नख्खु कारागारको निरीक्षण गर्नुका साथै अन्य कैदीबन्दीहरूसँग पनि सोधपुछ गरेको छ । आन्दोलनकारीहरूको भीड नख्खु कारागार पुगेपछि लामिछाने कारागारबाट बाहिर निस्किएको आरोप लागेको छ । उनी निस्किएपछि अरू कैदीबन्दीहरू पनि कारागारबाट बाहिर निस्केको बताइएको छ ।
तर रवि लामिछाने र उनी आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले नख्खु कारागारका जेलर सत्यराज जोशीको जारी गरेको पत्रका आधारमा लामिछाने थुनामुक्त भएको दाबी गरेका थिए । आयोगले भोलिपल्ट जेलरसँग सोधपुछ गरेर लामिछानेसँग थुनामा रहँदा भएको अवस्था सम्बन्धी जानकारी लिएको हो ।
बुटबलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया प्रालिमा ल्याएर सहकारी ठगी गरेको आरोपमा लामिछाने थुनामा परेका हुन् । भैरहवा कारागारमा रहेका उनलाई केही महिनाअघि नख्खुमा ल्याइएको थियो । उनी नख्खुमै रहेका बेला भएको हुलदंगापछि भदौ २४ मा कारागारबाट बाहिर निस्केका थिए ।
‘आयोगका पदाधिकारीहरूको टोलीले भदौ २४ गते नख्खु कारागारको समग्र अवस्थाबारे सोधपुछ गर्नुका साथै वस्तुस्थिति अध्ययन गरेर फर्कियो,’ आयोगसम्वद्ध स्रोतले बताए । ‘लामिछाने बाहेक अन्य कैदीबन्दीहरूसँग पनि संवाद भएको थियो । नाईके र भाइनाइकेहरूले विस्तृत कुराकानी गरेका थिए ।’
सोधपुछका क्रममा लामिछाने थुनाबाहिर निस्कनुपर्दाको अवस्था, जेलरको नाममा जारी पत्र, त्यसपछि जेलबाहिर जाँदाको परिस्थितिसमेत छलफल भएको बताइएको छ ।
गत साता उपत्यका बाहिर रहेका आयोगका पदाधिकारीहरूले विभिन्न ठाँउको सूचना संकलन गरी काठमाडौं फर्किएका थिए । आइतबारदेखि आयोग काठमाडौंका घटनामा केन्द्रित हुन थालेको हो ।
आइतबार मात्रै आयोगले प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । त्यसको आधारमा हेडक्वार्टरले भदौ २३ र २४ गते जिम्मेवारीमा रहेका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न सर्कुलर जारी गरेको थियो ।