© २०२३
काठमान्डौ, १७ कार्तिक ।
नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले छलफल थालेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि बैंक्वेटमा सोमबार बिहानदेखि उनीहरूबीच पार्टीभित्रको वर्तमान परिस्थितिबारे विस्तृत विचार–विमर्श भइरहेको छ ।
केन्द्रीय सदस्य शङ्कर भण्डारीका अनुसार छलफलमा पार्टीको कार्यसम्पादन समितिमा नपरेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू सहभागी छन् । सहभागीहरूमा पूर्वमन्त्रीहरू वीरबहादुर बलायर, सीता गुरुङ, मीन विश्वकर्मा, साथै दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्र लिम्बु, गुरु बराल, नैनसिंह महरलगायत नेताहरू रहेका छन् । विश्वकर्मा पार्टीको प्रचार विभाग प्रमुखसमेत हुन् ।
केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको छलफल पार्टीलाई विद्यमान संकटबाट कसरी निकास दिने भन्ने विषयमा केन्द्रित रहेको बताए । उनले भने, “केहीले विशेष महाधिवेशनको कुरा गर्छन्, केहीले नियमित महाधिवेशनमै टुंग्याउनुपर्छ भन्छन्— यस्तो मतभिन्नताबीच पार्टीलाई कसरी एकढिक्का पार्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ ।”
त्यस्तै, शङ्कर भण्डारीले पनि केन्द्रीय समिति निर्णयविहीन अवस्थामा फँसेको बताउँदै भने, “पार्टीलाई अनिर्णयको बन्दी बन्न नदिई स्थायित्व र दिशा दिन के गर्न सकिन्छ भन्ने विषयमा हामीले विमर्श गरिरहेका छौँ ।”
भेलामा सहभागी केन्द्रीय सदस्यहरूले आगामी फागुन २१ गतेका लागि सरकारले तोकेको निर्वाचन सफल बनाउन पार्टीले छिटो संस्थागत निर्णय गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । साथै, पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेशन’ गर्न नेतृत्वलाई सिफारिस गर्ने तयारी पनि गरिएको सहभागीहरूले जानकारी दिएका छन् ।