© २०२३
काठमान्डौ, १७ कार्तिक ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच भएको भेटवार्ता निष्कर्षविहीन भएको छ । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा दुबै नेताबीच पार्टी एकता र पुनर्गठनका विषयमा मतभिन्नता देखिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार महासचिव भुसालले ‘पहिले पार्टी पुनर्गठन गरेर मात्र एकता गर्ने’ प्रस्ताव राखेका थिए । तर, प्रचण्डले ‘पहिले एकता गरौँ, त्यसपछि क्रमशः पुनर्गठन गरिँदै जाने’ सुझाव दिएका थिए । यही विषयमा सहमति नजुटेपछि भेटवार्ता निष्कर्षविहीन बनेको हो ।
भुसालले भने, “पार्टी पुनर्गठनका लागि तयार हुनुहुन्छ कि छैन भन्ने विषयमा प्रचण्डसँग छलफल भएको थियो, तर उहाँ पुनर्गठनका पक्षमा रहनुभएन । त्यसैले कुरा मिलेन । उहाँले अहिले नै एकता गर्नुस्, पछि पुनर्गठन हुँदै जान्छ भन्नुभयो, तर पुनर्गठनको ढोका नखोलीकन एकता सम्भव छैन ।”
प्रचण्डसँग सहमति जुट्न नसकेपछि भुसालले पार्टी पुनर्गठनको तयारी तीव्र पारेका छन् । आइतबार मात्रै एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यहरूले माओवादी केन्द्रसहित आठ दलीय एकतामा हस्ताक्षर गरे पनि भुसाल त्यस प्रक्रियामा सहभागी भएका थिएनन् ।