© २०२३
नवलपरासी, १७ कार्तिक ।
जिल्लाको प्रतापपुर गाउँपालिकाले शिक्षा सम्बन्धी समस्याबारे छलफल र अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ ।
दुई साता पहिला गाउँपालिकाले करार कर्मचारीको करार सम्झौता रद्द गरे पश्चात् सृजना भएपछि सो अन्तर्क्रियाको आयोजना गरेको हो ।
शैक्षिक सत्रको बिचमै करारमा राखिएका शिक्षकहरू हट्ने अवस्थाले शैक्षिक क्षेत्रमा समस्या सृजना भएको अन्तर्क्रियामा उपस्थित विद्यालयका प्राधानाध्यापकहरूले गुनासो राखेका थिए ।
गाउँ शिक्षा समितिका सदस्य समेत रहेका त्रिभुवन मावि बेलाटारीका प्रधानाध्यापक नारद ठाकुरले शैक्षिक सत्रको बिचमै करार शिक्षक हटाउनाले शैक्षिक गुणस्तरमा समस्या आउने बताएका थिए ।
दरबन्दी कम भएका विद्यालयमा करारका शिक्षकहरूबाट राहत पुगेको थियो, उनले प्रश्न गर्दै भने, तर अहिले तिनै शिक्षक हटाइए पछि ती शिक्षकले पढाउँदै आएका पाठ्यक्रम कसले पढाई दिइने हो ? पालिका भित्रका अधिकांश विद्यालयमा दरबन्दी अनुसारका शिक्षक छैनन् ।
गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले शैक्षिक क्षेत्रको जनशक्ति आपूर्तिसँगै अध्यक्ष शैक्षिक बेरोजगारी कम गर्ने गरी शैक्षिक रोजगारी कार्यक्रम सञ्चालन गर्दै आएका थिए । त्यसैबाट ३१ जना विभिन्न विद्यालयमा शिक्षकहरूको समस्यालाई राहत पुगेको थियो ।
गाउँपालिकामा कुल २३ वटा सामुदायिक विद्यालय र एउटा मदरसामा समेत सोही कार्यक्रमले शिक्षकको परिपूर्ति गरिएको थियो । उक्त विद्यालयहरू मध्ये प्रावि दरबन्दी तर्फ स्वीकृत दरबन्दीका ९२ र राहतका २४ गरी कुल १ सय १६ जना शिक्षक छन् ।
त्यसैगरि निमावि तहमा स्वीकृत दरबन्दीका १६ जना र राहतका १८ जना गरी कुल ३४ दरबन्दीका शिक्षक छन् । मावि तहमा १४ जना र राहतका ६ जना गरी २० जना शिक्षक रहेका छन् । उच्च मावि तहमा ३ जना, अनुदानका ४ जना गरी ७ जना शिक्षक रहेका छन् ।
गाउँपालिकाको सशर्त अनुदानका १ सय ९७ जना शिक्षक रहेका छन् । त्यसबाट पनि शिक्षक अभाव देखिदा अध्यक्ष यादवले शैक्षिक रोजगारी कार्यक्रम बनाई ३१ शिक्षक थपेका थिए । गाउँपालिकामा कुल २ सय २८ जना शिक्षकले शिक्षण गर्दै आएका थिए ।
शिक्षकको कारर रद्द गर्ने कार्य हतारमा भएको जनाउँदै विशेष नगर सभा मार्फत सो निर्णय परिमार्जन गर्न समेत सुझाव पेस गरेका थिए । कार्यक्रममा गाउँ कार्यपालिका सहितका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतापपुर गाउँपालिकाले करार सेवामा कार्यरत ९२ जना कर्मचारीको सम्झौता रद्द गरे पश्चात् कर्मचारी सेवाबाट निष्कासित भएका छन् । नेपाल सरकारको निर्णय अनुसार भएको परिपत्रका कारण करार कर्मचारी आवश्यकता भए पनि करार सम्झौता रद्द गरिएको थियो । सम्झौता रद्द हुनेमा सबै भन्दा बढी शिक्षा तर्फका कर्मचारी रहेका छन् ।
शिक्षा तर्फ ६१ जना,वार्ड कार्यालयमा रहेका प्रशासनिक क्षेत्रका २० जना र स्वास्थ्य क्षेत्रका ११ जना कर्मचारीको करार सम्झौता रद्द गरिएको थिए । उनीहरूको करार सम्झौता रद्द हुने कार्तिक १ गते देखी नै लागू हुने गरी गाउँपालिकाले निर्णय गरेको थियो ।
गाउँपालिकामा विद्यार्थी अनुपातमा शिक्षक सङ्ख्या न्यून रहेकोले गाउँपालिका अध्यक्ष शैक्षिक रोजगार कार्यक्रम मार्फत गाउँपालिकाले प्रावि तहमा ३० जना शिक्षक र ७ जना विषयगत शिक्षक परिचालन गर्दै आएको थियो ।
विद्यालय सुरक्षाका लागि २४ जना पाले पनि विद्यालयमा रहेका थिए । गाउँपालिका भित्र रहेका ९ वटा स्वास्थ्य चौकी मध्ये ४ वटामा बर्थिगँ सेन्टरमा कार्यरत ४ जना ल्याब असिस्टेन्ट र ७ जना स्वीपरको पनि करार सेवा रद्द भएको छ । गाउँपालिकाको आन्तरिक आय १ करोड ३० लाखसम्म मात्र हुने गरेको जानकारी गराइएको थियो ।