© २०२३
बुटवल, १७ कार्तिक ।
डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गरेका रुपन्देहीका चार उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई प्रिमियम महसुलको बक्यौता रकम तिरेका छन् ।
भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रीज, सिद्धार्थ पेट प्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता बुझाएका हुन् । पहिलो किस्ता तिरेपछि प्राधिकरणले विछेद गरिएको विद्युत् आपूर्ति पुनः जडान गरेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
प्राधिकरणका अनुसार उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।
पञ्चकन्या प्लास्टिकको बक्यौता २४ लाख ६३ हजार रुपैयाँ, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेट प्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ रहेको छ । प्राधिकरणले ती बक्यौतालाई २८ किस्तामा विभाजन गरेको र उद्योगहरूले त्यसको पहिलो किस्ता बुझाएको जनाएको छ ।
पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार, बाध्यात्मक अवस्थाका कारण २८ किस्तामध्ये पहिलो किस्ताका रूपमा करिब दुई लाख ८० हजार रुपैयाँ बुझाएपछि दुई उद्योगको विद्युत् लाइन पुनः जडान गरिएको हो ।
आजै पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिक उद्योगले विद्युत् नियमन आयोगमा उजुरी पनि दर्ता गरेका छन् । उनका अनुसार पूर्वी नेपालका उद्योगहरू र पञ्चकन्या औद्योगिक करिडोरका उद्योगबीचको विवाद अलग-अलग प्रकृतिको हो ।
विद्युत प्राधिकरणले माग र प्रयोग गरेको प्रमाण टीओडी मिटर समेत दिन नसकेको साहुको भनाइ छ ।