Butwal Today

१५औं महाधिवेशन वैशाख अन्त्यतिर गर्ने कांग्रेस संस्थापन पक्षको प्रस्ताव

१७ कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १७ कार्तिक ।

नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखको अन्तिम साता आयोजना गर्ने प्रस्ताव गरेको छ ।

नयाँ बानेश्वरमा बसेको भेलाले आगामी वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव तयार पारी भोलि बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेको हो । भेलाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउन पार्टीका सबै तह र संरचनालाई सशक्त रूपमा क्रियाशील रहन आह्वान गरेको छ ।

त्यसैगरी भेलाले १५ पुसभित्र क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण कार्य सम्पन्न गर्ने, सम्पूर्ण संगठनस्तरमा घरदैलो तथा जागरण अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

भेलाका नेताहरूका अनुसार यी निर्णयहरू आगामी निर्वाचन तयारीसँगै पार्टी सुदृढीकरण र संगठन विस्तारका लागि महत्त्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ ।