© २०२३
काठमान्डौ, १७ कार्तिक ।
संघीय संसद् अन्तर्गत सांसद तथा संसद्का पदाधिकारीहरूले पाउँदै आएका स्वकीय सचिवको सुविधा सरकारले खारेज गरेको छ ।
सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूचीमा संशोधन गर्दै प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, साथै सांसदहरूको स्वकीय सचिव सुविधा हटाउने निर्णय गरेको हो ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभामा २७५ र राष्ट्रिय सभामा ५९ गरी जम्मा ३३४ जना सांसद रहेका छन् । तीमध्ये सभामुख र राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सचिव सुविधा यथावत् राखिएको छ, तर बाँकी ३३२ जनाको सुविधा कटौती गरिएको हो ।
यसअघि संसद्का पदाधिकारीहरूले स्वकीय सचिव बाहेकका कर्मचारी सुविधा पनि पाउँदै आएका थिए । दुवै सदनका विपक्षी दलका नेता, सत्तारूढ दलका मुख्य सचेतक, सचेतक तथा राष्ट्रिय दलका प्रमुख सचेतक ले स्वकीय सचिवसहितका कर्मचारी सुविधा उपभोग गर्दै आएका थिए । त्यस्तै, संसदीय विषयगत समितिका सभापति ले पनि सोही सुविधा पाउँदै आएका थिए। तर सरकारले गरेको पछिल्लो निर्णयपछि यी सबैमा हेरफेर भएको छ ।
सभामुख र राष्ट्रिय सभा अध्यक्ष बाहेक सबै पदाधिकारी र सांसदको स्वकीय सचिवसहितका अन्य सहयोगी कर्मचारी सुविधा कटौती गरिएकोले ३३२ जना स्वकीय सचिवका पद औपचारिक रूपमा खारेज भएका छन् ।
ऐन, २०७३ को दफा २५ अनुसार सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने गरी अनुसूचीमा हेरफेर गर्न सक्ने व्यवस्था छ । सोही अधिकार प्रयोग गर्दै सरकारले अनुसूची–२ को क्रमसंख्या २ र ३ संशोधन गरी उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, विषयगत समितिका सभापति र सांसदहरूको स्वकीय सचिव सुविधा हटाएको हो ।
प्रतिनिधि सभामा हाल १० वटा विषयगत समिति, राष्ट्रिय सभामा ४ वटा समिति र २ संयुक्त समिति गरी कुल १६ वटा समितिहरू छन्, जसले अघिसम्म स्वकीय सचिव र अन्य कर्मचारी सुविधा प्राप्त गर्दै आएका थिए ।

प्रचलित ऐन अनुसार उपसभामुख र उपाध्यक्षले स्वकीय सचिव रा.प.द्धि. एकरएक जना पाउँदै आएका थिए । जो खारेज भएको छ ।
स्वकीय सुविधा खोसिएतापनि उपसभामुख र उपाध्यक्षले पाउने अन्य सुविधा भने यथावत छ । जस अन्तर्गत दुवैले एक/एक जना कम्युटर अप्रेटर, दुई/दुई जना सवारी चालक, दुई/दुई जना कार्यालय सहयोगी पाउँछन् ।
यसका अलावा एउटा/एउटा प्रिन्टरसहितको कम्युटर, दुई/दुई वटा साइकल, अतिथि सत्कार खर्च प्रति महिना दुई/दुई हजार, अंग रक्षक पदिक एक/एक जना, विल्लादार गार्ड एक/एक जना पाउँछन् ।
राष्ट्रिय सभामा विपक्षी दलको नेता, सत्तापक्षको नेता र सत्तापक्षको मुख्य सचेतकले पाउँदै आएको एक/एक जना स्वकीय सचिव रा.प.द्धि.को सुविधा पनि खोसिएको छ ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पाउने सुविधाहरू भने यथावत छ ।
दुवैले स्वकीय सचिव (रा.प.प्र.) एकरएक जना, स्वकीय सचिव (रा.प.द्वि.) एक/एक जना, स्वकीय सचिव (रा.प.तृ.) एक/एक जना, कम्प्युटर अप्रेटर ( रा.प.अ.प्र.) एक/एक जना पाउँछन् । सवारी चालक (प्रथम स्तर) दुई/दुई जना, कार्यालय सहयोगी (प्रथम स्तर) दुई/दुई जना पाउँछन् ।
सभामुख र राष्ट्रिय सभा अध्यक्ष दुवैले प्रिन्टर सहितको कम्प्युटर एक/एक वटा, साईकल दुई/दुई वटा, अतिथि सत्कार प्रति महिना २५/२५ हजार, अंग रक्षक, पदिक एक/एक जना, विल्लादार गार्ड एक/एक जना, सैनिक जवान (सिपाही) १०/१० जना पाउँछन् ।