© २०२३
काठमान्डौ, १७ कार्तिक ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दल विभाजन रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आज सुनुवाइका लागि पेसी तोकेको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो ।
यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अहिलेसम्म भएका सबै निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो । सो क्रममा सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो । दुवै पक्षको बहसपछि सर्वोच्च अदालतले आज यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्ने विषयमा निर्णय गर्नेछ ।
राउतले रिटमार्फत निर्वाचन आयोगलाई जनमत पार्टी विभाजन गरी नयाँ दल दर्ता गर्ने प्रक्रियामा अगाडि नबढ्न आदेश जारी गर्न माग गरेका छन् ।
उनको पार्टीभित्रको असन्तुष्ट समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यहरूले उक्त निवेदन निर्वाचन आयोगमा पेस गरेका हुन् ।