© २०२३
काठमान्डौ, १७ कार्तिक ।
भारतको तेलंगाना राज्यमा भएको भीषण बस–ट्रक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ । दुर्घटना सोमबार बिहान रंगा रेड्डी जिल्लाको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा बसमा सवार २० जनाले ज्यान गुमाएका छन् भने अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ राहतस्वरूप प्रदान गरिनेछ । यो सहयोग रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट उपलब्ध गराइने जनाइएको छ ।