© २०२३
काठमाडौं, १६ कात्तिक ।
काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जनमा पाँच दिनदेखि भइरहेको अवरोध अन्ततः हटेको छ ।
सडकमै अलपत्र रहेका र काठमाडौंमा फोहोर लोड भएका गाडी अब ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडाका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो ।
स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतसहितको टोली आइतबार बिहान बन्चरेडाँडा पुगेको थियो ।
टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै ल्यान्डफिल साइट पर्ने धादिङको धुनिबँसी नगरपालिका प्रमुख, नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका अध्यक्ष र स्थानीयवासिन्दासँग अन्तर्क्रिया गरेको थियो ।
मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले सहमति कार्यान्वयन प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरे ।
‘विगतमा धेरै सहमति भएका रहेछन्, मैले सबैको अध्ययन गरेको छु । अहिले म विश्वास दिन आएको होइन, कार्यान्वयन गर्छु । फोहोर व्यवस्थापनका लागि अवरोध नगरिदिनुहोस्,’ मन्त्री घिसिङले भने । ‘अवरोध हटाएर एउटा सन्देश दिनुहोस्, बल प्रयोग गरेर नभई प्रभावितसँग वार्ता र संवादमार्फत सौहर्द्रपूर्ण रूपमा समस्या समाधान गरिनेछ ।’
मन्त्री घिसिङले अल्पकालीन र दीर्घकालीन योजना सहित फोहोर व्यवस्थापन अगाडि बढाउने बताए । अल्पकालीन रूपमा गर्न सकिने काम तत्काल अघि बढाउने र विगतमा भएका सहमति कार्यान्वयनका लागि आवश्यक नीतिगत निर्णय गर्ने उनले उल्लेख गरे ।
स्थानीयले उठाएको लिच्चड व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय समावेश गरेर समिति बनाउने तयारी भइरहेको छ । पोखरीमा जम्मा भएको लिच्चड खोलामा जान नदिन रिसाइकलका लागि तत्काल पम्प सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ, हाल पम्प बिग्रिएको छ ।
ल्यान्डफिल साइटमा जथाभावी फोहोर फालिएको गुनासो सम्बोधन गर्न सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका १/१ प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ ।
त्यस्तै, रात्रिकालीन फोहोर व्यवस्थापनका लागि साइटमा आवश्यक बत्ती व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै मन्त्री घिसिङले सोमबारदेखि नै बत्ती राख्न सुरु गरिने उल्लेख गरे । यसका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक र नुवाकोट वितरण केन्द्र प्रमुखलाई निर्देशन दिएका छन् ।
वैज्ञानिक व्यवस्थापनका लागि फोहोर छुट्याउन विभिन्न ठाउँमा पहिचान गरिएका सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउन मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिइने उनले बताए ।
ल्यान्डफिल साइटबाट प्रभावित क्षेत्र यकिन गर्न चार सिजनको तथ्यांक आवश्यक भएकाले पूरक पर्यावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न गर्न केही समय लाग्ने भएकाले स्थानीयलाई बुझाइ दिएको उनले बताए ।
मन्त्री घिसिङले ईआईएपछि प्रभावित क्षेत्र पहिचान भएपछि जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाउने पनि बताए ।
दीर्घकालीन फोहोर व्यवस्थापनका लागि लगानी बोर्डले अगाडि बढाएको प्रक्रियामा कानुनी अडचन काठमाडौं उपत्यकाका मेयर्स फोरमलाई सहभागी गराएर समाधान गरिने उनले उल्लेख गरे ।
धुनिबँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, प्रभावित वडाका अध्यक्ष र स्थानीय सरोकारवालाले विगतमा सहमति भए पनि कार्यान्वयन नहुँदा फोहोर विसर्जनको समस्या बारम्बार आउने गरेको बताए ।
उनीहरूले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि कार्ययोजना सहित अगाडि बढ्न, फोहोर फाल्ने स्थान र व्यक्तिलाई छुट्याउन, विगतका सहमति सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।