© २०२३
काठमान्डौ, १६ कार्तिक ।
नेकपा एमालेले आउँदो ११औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि शुल्क र प्रतिनिधि चयन प्रक्रिया सार्वजनिक गरेको छ ।
महासचिव शंकर पोखरेलका अनुसार, महाधिवेशनमा करिब २१ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । आयोजक प्रतिनिधिका लागि शुल्क तीन हजार र निर्वाचित प्रतिनिधिका लागि दुई हजार रूपैयाँ तोकिएको छ ।
आउँदो मंसिर १३ गते देशभरका सबै स्थानमा प्रतिनिधि चयन हुने र मंसिर १५ भित्र महाधिवेशन प्रतिनिधिको नाम पठाउन सकिने महासचिव पोखरेलले जानकारी दिएका छन् ।
उनका अनुसार, प्रत्येक १,२०० पार्टी सदस्यबाट ४ जना प्रतिनिधि चयन गरिनेछ, जसमा १ जना महिला, १ जना ४० वर्षमुनिका युवा र २ जना खुला प्रतिनिधि रहनेछन् । प्रत्येक थप ८०० सदस्यमा १ जना प्रतिनिधि थपिने व्यवस्था गरिएको छ । पहिलो प्रतिनिधि महिला हुने र चौथो प्रतिनिधि पनि महिला हुनेछन् ।
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई प्रतिनिधि चयनको इकाई मानिनेछ भने, एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला वा गैरभौगोलिक जिल्लामा जिल्ला नै निर्वाचन इकाई हुने व्यवस्था गरिएको छ । दलित समुदायको लागि विशेष निर्वाचन इकाई अन्तर्गत जिल्ला आधारित प्रतिनिधि चयन हुनेछ, जहाँ प्रत्येक ५०० सदस्यमा १ जना प्रतिनिधि रहनेछन् ।
त्यस्तै, ट्रेड युनियनको हकमा प्रदेशबाट ७ जना प्रतिनिधि (जसमा २ जना महिला) चयन हुनेछन् भने, केन्द्रीय सल्लाहकार परिषद्बाट २५ जना प्रतिनिधि निर्वाचित हुनेछन् । प्रत्येक प्रदेश कमिटीबाट ५ जना (जसमा २ जना महिला अनिवार्य), पार्टी सम्बद्ध जनसंगठनबाट ५ जना (जसमा २ जना महिला अनिवार्य), महासंघीय ढाँचाका संगठनबाट ७ जना (जसमा २ जना महिला), विभाग र केन्द्रीय कार्यालयबाट एक–एक प्रतिनिधि चयन हुनेछ । केन्द्रीय कमिटीबाट मनोनीत प्रतिनिधिको संख्या कुल प्रतिनिधिको ५ प्रतिशत रहनेछ ।
एमालेको ११औँ महाधिवेशन आउँदो मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने तय भएको छ ।