© २०२३
काठमान्डौ, १६ कार्तिक ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरिएको छ ।
नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियामार्फत अनुभवी र सक्षम सेवा प्रदायक छनोट गर्न टेन्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम मिति आगामी पुस २ (डिसेम्बर १७, २०२५) तोकिएको छ ।
सुरुङमार्गमा सवारी सञ्चालनका लागि आवश्यक भौतिक संरचना तयार भइसकेको भए पनि दक्ष जनशक्ति र सुरक्षासम्बन्धी तयारी अपूरो भएकाले हालसम्म सञ्चालनमा आउन सकेको छैन । मुख्य सुरुङको लम्बाइ २.७ किलोमिटर र आपत्कालीन सुरुङको लम्बाइ २.६ किलोमिटर रहेको छ । यसअघि सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि सडक उपभोग शुल्क (टोल) समेत तोकेसकेको छ ।
सुरुङमा अत्याधुनिक प्रविधि समावेश भएकाले यसको सञ्चालन र मर्मतका लागि विशेष तालिम प्राप्त जनशक्तिको आवश्यकता रहेको आयोजनाले जनाएको छ । सडक विभागको सीमित जनशक्ति र कार्यबोझका कारण अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्ने निर्णय गरिएको हो । चयन गरिएको सेवा प्रदायकले पाँच वर्षका लागि सुरुङमार्ग सञ्चालन र मर्मतको जिम्मेवारी वहन गर्नेछ ।
यो अवधिमा विदेशी विशेषज्ञको सहकार्यमा नेपाली प्राविधिक र व्यवस्थापकहरूले प्रविधि र अनुभव हासिल गर्ने र आगामी दिनमा देशमै निर्माण हुने अन्य सुरुङमार्ग तथा फास्ट ट्र्याक परियोजना स्वदेशी जनशक्तिबाट सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
सुरुङ २४ घण्टा सञ्चालनमा रहने भएकाले दुर्घटना, आगलागी वा प्रविधिक समस्या आइपरेमा तुरुन्तै आपत्कालीन सेवा उपलब्ध हुनुपर्नेछ । त्यसका लागि सेवा प्रदायकले शिफ्ट प्रणालीमा जनशक्ति परिचालन गर्ने र आपत्कालीन टोली स्थापना गर्ने व्यवस्था मिलाउनेछ । सो प्रयोजनका लागि कुल १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।
सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा सञ्चालन हुने संरचनामा सुरक्षा व्यवस्थापन इकाइमा ६४ जना, टोल संकलनका लागि ५४ जना, ट्राफिक अनुगमन र नियन्त्रणका लागि १४ जना तथा सिभिल र अन्य संरचना मर्मतका लागि ८–८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।
