© २०२३
काठमान्डौ, १६ कार्तिक ।
नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी रुपान्तरणका लागि पाँचवटा प्रस्ताव अघि सारेका छन् । एकीकृत समाजवादीसँगको पार्टी एकीकरणलाई लिएर उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाइरहेको अवस्थामा किराँतीले पार्टी एकता तत्काल रोक्नुपर्ने धारणा राखेका छन् ।
किराँतीको अनुसार, पार्टी, आन्दोलन र जेन–जी विद्रोहको भावना विपरीत एकता गर्न लागिएको छ । व्यक्तिको स्वार्थका लागि गरिएको एकता अपूर्ण र अपवित्र भएको दाबी गर्दै उनले नेतृत्वसँग तत्काल एकता नगर्न आग्रह गरेका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन भइरहेको बेला पार्टी एकता अघि बढाउनु नहुने उनको तर्क छ ।
उनले पार्टी संरचना सुधारका लागि विधान संशोधन गरी नयाँ संरचना निर्माण गर्ने र आवश्यक पर्दा पार्टी विघटन गरी अधिवेशन घोषणा गर्न सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् । पार्टी संयोजक प्रचण्डलाई संरक्षक वा सर्वमान्य नेता बनाई पदाधिकारीलाई निर्देशक कमिटीमा रूपान्तरण गर्न किराँतीले सुझाव दिएका छन् ।
स्थायी समितिदेखि पुराना नेताहरूलाई समेटेर एक केन्द्रीय राजनीतिक समिति गठन गर्नुपर्ने र उक्त समितिलाई सांसद छनोटसमेत गर्न सक्ने अधिकार दिने प्रस्ताव पनि उनले अघि सारेका छन् ।
किराँतीको पाँचौ प्रस्ताव छ,‘तेश्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिउँ र त्यो तेश्रो पुस्ताले पुलको भूमिका स्वरुप पुरानोको अनुभव र नयाँ (जेन–जी) पुस्ताको उर्जालाई जोडेर पार्टीलाई गति दिउँ वा अफ्ठ्यारोमा परेको पार्टीलाई उद्वार गरौं ।’