© २०२३
सल्यान, १६ कार्तिक ।
उच्च ज्वरोका कारण पालिकाभित्रका चार जनाको मृत्यु भएपछि सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।
शनिवार वडा नम्बर ३ मा सञ्चालन भएको निःशुल्क शिविरमा महिला १४६ जना र पुरुष १०१ गरी जम्मा २४७ जनाले स्वास्थ्य सेवा लिएका थिए । जसमध्ये ज्वरो आएका ६७ जनाको स्क्रब टाइफस र डेंगी चेक जाँच गराउँदा २३ जनालाई स्क्रब टाइफस र एक जनालाई डेंगी सङ्क्रमण पुष्टि भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए ।
गाउँपालिकाको आयोजना र दार्मा गाउँपालिका जेनजी समूहको समन्वय तथा जिल्ला अस्पताल सल्यानका डाक्टर र प्राविधिकहरूको सहयोगमा थुम्केसक्लीमा विशेष स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
दार्मामा पछिल्लो दिनयता ज्वरोकै कारण चार जनाको मृत्यु भैसकेको छ । स्वास्थ्य शाखाको विवरण अनुसार दार्मा गाउँपालिका, ३ निवासी ६८ वर्षीय तिली बिक, सोही ठाउँ निवासी ४७ वर्षीय यनकुमारी खत्री, दार्मा ५ का ४० वर्षीय टेकम चन्द र दार्मा ४ निवासी ४१ वर्षीय पवित्रा थापाको उच्च ज्वरोको कारण मृत्यु भएको थियो । उनीहरू सबैको उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो । तिहारअघि एक जना र तिहारयता तीन जनाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।
दार्मा र सल्यान आसपासमा स्क्रब टाइफसले महामारीको रूप लिइसकेको सङ्केत गरेको भन्दै दार्मा गाउँपालिकाका अध्यक्ष केसीले यसको नियन्त्रणका लागि सङ्घ, प्रदेश र जिल्ला अस्पतालले विशेष रोकथाम तथा अभियान चलाउन जरुरी रहेको बताए ।
स्वास्थ्य सेवा कार्यालयको प्रथम त्रैमासिक विवरण अनुसार जिल्ला अस्पतालमा १०७ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ भने यो तीन महिनाको अवधिमा १२ जनामा डेंगी रोग देखिएको थियो ।