© २०२३
काठमाडौं, १६ कात्तिक ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका दलहरूबीच कात्तिक २० गते पार्टी एकता हुने भएको छ । आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता अग्नीप्रसाद सापकोटाका अनुसार कात्तिक १८ गते बस्ने केन्द्रीय समिति बैठकमा संगठनात्मक र नीतिगत विषयमा छलफल हुनेछ भने २० गते एकता प्रक्रियासम्बन्धी संयुक्त बैठक बस्नेछ ।
नेकपा (एकीकृत समाजवादी) सहित एकतामा आउने अन्य दलहरूसँग संयुक्त बैठक बसेर एकता घोषणा गरिने तयारी गरिएको छ ।
‘हाम्रो केन्द्रीय समिति बैठक पर्सी १८ गते बस्ने निर्णय भएको छ,’ सापकोटाले भने, ‘अनि संयुक्त अधिवेशन एकीकृत समाजवादीलगायतका एकतामा आउने दलहरूको बैठक २० गते बस्ने कुरा भएको छ ।’
बैठकमा पार्टी एकतापछि नयाँ दल दर्ता प्रक्रिया र त्यसको तयारीबारे विस्तृत छलफल भएको सापकोटाले जानकारी दिए । उनका अनुसार, ‘नीतिगत, वैचारिक र संगठनात्मक विषयहरू मिलाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी’ बैठकको मुख्य एजेन्डा थियो ।
तर सचिवालयका सदस्य जनार्दन शर्माले भने आजको बैठक बहिष्कार गरेका छन् । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा पार्टी एकता अघि बढाउने निर्णयप्रति असहमति जनाउँदै शर्माले शनिबारको बैठकमै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए ।
प्रवक्ता सापकोटाले जनार्दन शर्माको गतिविधि ‘पार्टी अनुशासन विपरीत र अराजक’ रहेको भन्दै सोबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् ।
‘हिजोको बैठकमा उहाँले आफ्ना कुरा राख्नुभयो तर अन्य नेताहरूको धारणा सुन्नुअघि नै बैठक छोड्नुभयो । त्यस शैलीलाई हामीले राम्रो नभएको ठानेका छौं,’ उनले भने ।
माओवादी केन्द्रले एकीकृत समाजवादीलगायतका दलहरूसँग वैचारिक, नीतिगत र संगठनात्मक एकता गरेर नयाँ दल दर्ता गरी संयुक्त अधिवेशनमा जाने तयारी गरेको जनाएको छ ।