Butwal Today

बौलाहा कुकुर र जनावरले टोक्ने जोखिम

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

सल्यान, १६ कार्तिक ।

सल्यानमा बौलाहा कुकुरको टोकाइबाट मानिसहरू घाइते भै केही संख्यामा बिरामीहरू जिल्ला अस्पतालमा देखिएपछि स्वास्थ्य सेवा कार्यालय सल्यानले रेबिज रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरिनेभएको छ ।

केही दिन अघि जिल्लाको शारदा नगरपालिकामा ६ जना र छत्रेश्वरी गाउँपालिकामा पाँचजना मानिस कुकुरको टोकाइबाट घाइते भएका थिए ।केही स्थानिय तहहरूले रेबिज रोगबारे सचेतनामुलक कार्यक्रम संचालन गरेका थिए ।

जिल्ला अस्पतालमा केहि संख्यामा कुकुरले टोकेका विरामिहरू देखिएको र चिसो मौसममा बौलाहा कुकुर, स्याल वा अन्य जनावरको टोकाईको सम्भावना वढ्ने भएको हुदाँ स्वास्थ्य सेवा कार्यालयले पत्राचार गर्दै पालिका मातहतका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मिहरू, महिला स्वास्थ्य स्वयंसेविका मार्फत जनचेतनामूलक गतिविधि संचालनका लागि अनुरोध गरेको हो ।

समुदायमा जनचेतना कार्यक्रम सञ्चालन गरी बौलाहा कुकुर वा अन्य जनावरको टोकाइबाट हुने जोखिमबारे आवश्यक सतर्कताको लागि गतिविधि संचालन गर्न अनुरोध गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख (स्वास्थ्य सेवा व्यवस्थापक) डाक्टर अर्जुन कुमार बुढाले जानकारी दिए ।

कुकुर वा अन्य जनावरले टोक्दा घाउलाई साबुन र स्वच्छ पानीले राम्ररी सफा गरी तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समुदायलाई जानकारी गराउन स्वास्थ्यकर्मीहरूलाइ अनुरोध गरिएको छ ।

यस्तै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूले रेबिज व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका र उपचार प्रोटोकलको पूर्ण पालना गर्दै आवश्यक व्यवस्थापन र प्रेषण गर्न पनि स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ ।यसैबीच मौसम परिवर्तनसँगै इन्फ्लुएन्जा (फ्लू) लगायतका विभिन्न स्वास प्रश्वास सम्बन्धि संक्रामक रोगहरूको प्रकोप बढ्ने सम्भावना रहेको हुँदा सबैमा सचेत रहन पनि कार्यालयले अनुरोध गरेको छ ।

ज्वरो आउने, टाउको दुखे, जिउ वा मांसपेशी दुखे, खोकी लाग्ने र घाँटी दुखे, नाक बन्द हुने वा सिँगान बग्ने, थकान महसुस हुने स्वास प्रस्वासमा समस्या, दम लगाएतका समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा वा अस्पतालमा सम्पर्क गर्न स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ ।