© २०२३
काठमान्डौ, १६ कार्तिक ।
सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्ने तयारी गरिरहेको छ । यसका लागि गृह मन्त्रालयले निर्वाचन आयोगको राय मागेको छ ।
सरकार विभिन्न चारवटा ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउने तयारीमा छ । गृह मन्त्रालयले प्रचलित ऐनमा संशोधन प्रस्तावको मस्यौदा तयार गरी निर्वाचन आयोगमा पठाइसकेको छ । निर्वाचन आयोगबाट राय प्राप्त भएपछि थप छलफल गरी प्रक्रिया अघि बढाइने गृह मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।
तर, निर्वाचन आयोगले गत बिहीबार पठाउने भनिएको राय अहिलेसम्म उपलब्ध गराएको छैन । गृह मन्त्रालयले आयोगले राय पठाउन विलम्ब गरेकोमा गुनासो पनि गरेको छ ।
गृह मन्त्रालय प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन तथा निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गरी विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रावधान राख्न लागेको हो ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, आयोगमा यो विषयमा छलफल भइरहेको छ र राय छिट्टै पठाउने तयारी छ । गृह मन्त्रालयका अधिकारीहरूले भने, मस्यौदा तिहारअघि नै पठाएको भए पनि अहिलेसम्म राय प्राप्त हुन नसकेको जानकारी दिएका छन् ।
गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख एवं सहसचिव भरतमणि रिजालले विदेशमा बस्ने नेपाली मतदाताहरूलाई समानुपातिकतर्फ भोट हाल्न दिने विषयमा प्राविधिक मस्यौदा तयार भएको बताए । रिजालका अनुसार, “मस्यौदालाई निर्वाचन आयोगमा पठाइसकिएको छ । आयोगबाट राय आएपछि थप छलफल हुनेछ । मतदाता नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका विषय आयोगले बनाउने कार्यविधि अनुसार सञ्चालन हुनेछ । अहिले भोट हाल्न दिने व्यवस्था समानुपातिकतर्फ मात्र लागू हुने छ ।”