© २०२३
काठमान्डौ, १६ कार्तिक ।
दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र सुशीलमान शेरचन नेतृत्वको नेपाली कांग्रेस (बीपी) बीच आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ । आइतबार मध्यपुरथिमिमा प्रसाईं निवासमा दुई पक्षबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर र आदानप्रदान गरिएको छ ।
दुवै पक्षले मुलुकको स्वतन्त्रता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको आन्तरिक तथा बाह्य चुनौतीको प्रतिवाद गर्न देशव्यापी जनजागरण आवश्यक रहेको निष्कर्षमा पुगेका छन् । राष्ट्र, धर्म र नागरिकको सुरक्षा, सुशासन र स्वतन्त्रताको पुनर्स्थापनालाई मुख्य लक्ष्य बनाउँदै यो सहकार्य सम्पन्न भएको हो ।
सहमति अनुसार, आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस ९बीपी० का नेता, कार्यकर्ता र समर्थकहरूले सक्रिय रूपमा सहभागी हुनेछन् ।
सहमतिमा उल्लेखित प्रमुख बुँदाहरू यसप्रकार छन् :
साझा उद्देश्य : राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि दुवै पक्षले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्नेछन् ।
आन्दोलनमा सहभागिता : आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता र समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन् ।
स्वतन्त्र प्रचार र पहिचान : आन्दोलनका क्रममा नेपाली कांग्रेस (बी.पी.) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचानसहित अभियानमा सहभागी हुने स्वतन्त्रता दिइनेछ ।
नेतृत्व र सह–समन्वय : आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गरिनेछ । बी.पी. कांग्रेसको तर्फबाट सहभागी टोलीको नेतृत्व तोकिएको जिम्मेवार व्यक्तिले गर्नेछ, जसले महाअभियानसँग सह-समन्वय गर्नेछ ।
नीति र मर्यादा : दुवै पक्षले आन्दोलनलाई पूर्ण रूपमा अहिंसात्मक, संवैधानिक, सभ्य र अनुशासित ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने सहमति भएको छ ।
प्रेस र जनसम्पर्क : सहकार्य सम्झौता र आन्दोलनबारे दुवै पक्षले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गर्नेछन् ।