© २०२३
काठमान्डौ, १६ कार्तिक ।
सुरक्षण मुद्रण केन्द्रले आगामी सोमबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ पुनः सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार सुरुवाती चरणमा दैनिक कम्तीमा ५०० लाइसेन्स छापिनेछ ।
विभागका निर्देशक नरहरि तिवारीका अनुसार सुरक्षण मुद्रण केन्द्रले बनेपामा लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गर्नेछ, जसपछि विभागले चालकहरूलाई वितरण गर्नेछ । उनका अनुसार हाल करिब २५ लाख सवारी लाइसेन्स छपाइ बाँकी छ, जसमा १२ लाख केन्द्रले छाप्ने जिम्मा लिएको छ । ती लाइसेन्स ३ देखि ६ महिनाभित्र विभागलाई हस्तान्तरण गरिनेछ ।
नयाँ स्मार्ट सवारी चालक अनुमति पत्रमा अब चिपको सट्टा क्युआर कोड प्रयोग हुनेछ । केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार कार्ड स्मार्ट नै हुनेछ तर त्यसमा प्रविधिक रूपमा सुरक्षित क्युआर कोड समावेश गरिनेछ ।
‘कार्डमा अब चिप हुँदैन, क्युआर कोडमार्फत सम्पूर्ण जानकारी सुरक्षित रूपमा भण्डारण हुनेछ,’ तिमिल्सिनाले जानकारी दिए ।
सवारी लाइसेन्स छपाइको खर्च यातायात व्यवस्था विभागले व्यहोर्ने भएको छ । केन्द्रले प्रत्येक कार्ड छाप्दा करिब १९५ रुपैयाँ १७ पैसा ९कर बाहेक० लागत अनुमान गरेको छ । सोही आधारमा विभागले आवश्यक बजेट उपलब्ध गराउने सहमति भएको विभागले जनाएको छ ।
गत बुधबार विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच लाइसेन्स छपाइका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । हाल विभागले सर्भर डेटा तथा प्रविधिक प्रणालीको परीक्षण गरिरहेको छ । निर्देशक तिवारीका अनुसार, “परीक्षण तीव्र गतिमा भइरहेको छ, सबै पक्ष सक्रिय छन् । परीक्षण पूरा भएपछि कुन–कुन सेवा तत्काल सञ्चालन गर्न सकिन्छ भन्ने स्पष्ट हुनेछ ।”
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी र तोडफोड हुँदा लाइसेन्स छपाइ मेसिन पूर्ण रूपमा नष्ट भएको थियो । त्यसयता लाइसेन्स छपाइ अनिश्चितकालका लागि रोकिएको थियो ।
यसका कारण वैदेशिक रोजगारीमा जाने श्रमिक र अत्यावश्यक सवारी अनुमति चाहने सेवाग्राही ठूलो समस्यामा परेका थिए । अब भने सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ सुरु भएपछि विभागले नियमित सेवा प्रवाह गर्ने तयारी तीव्र बनाएको छ ।