© २०२३
काठमान्डौ, १६ कार्तिक ।
नेपाली सेनाको मुख्यालय जंगीअड्डाको तारबार नाघेर एक युवकले रातभर तोडफोड गरेको खुलेको छ । घटना २०८२ असोज १८ गते राति भएको हो ।
सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–२२, न्युरोड बस्ने २४ वर्षीय राहुल बोगटीले जंगीअड्डामा बितन्डा मच्चाएको पाइएको छ । असोज १८ गते राति करिब ११ बजे तारबार नाघेर प्रवेश गरेका बोगटी भोलिपल्ट बिहान ११ : ५० बजे मात्रै निस्केका थिए, त्यसपछि नेपाली सेनाले घटनाको पत्ता पाएको थियो । नेपाल प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको छ ।
त्रिभुवन आर्मी अफिसर क्लब सभामण्डप भवनभित्र रहेको ड्राइसौनामा प्रवेश गरेर उनले सामानहरू तोडफोड गरेको पाइएको छ । तोडफोडबाट करिब ३७ हजार २ सय रुपैयाँ बराबरको क्षति पुगेको सेनाले दाबी गरेको छ । घटना पश्चात उनी भवनभित्रै रहेको महिला शौचालयमा बसेका थिए र भोलिपल्ट बिहान ११ : ५० बजे क्लब हाउसको गेट नजिकबाट हाम फाली भागेका थिए ।
पक्राउ परेपछि उनले प्रहरी अनुसन्धानमा भनेका छन्, “मलाई एक्कासि के भयो, होस् गुम्यो । मैले नेपाली सेनाको जंगीअड्डा भद्रकाली परिसरको तारबार नाघेर भित्र प्रवेश गरेको रहेछु ।” उनले त्यसबेला के गरेका थिए भन्ने स्पष्ट सम्झन सकेका छैनन् ।
बोगटी न्युरोडस्थित डेरामा बस्दै ज्याला मजदुरी गर्ने व्यक्ति हुन् । असोज १५ गते बनेपामा काकाको हातबाट टीका लगाएर भोलिपल्ट सार्वजनिक यातायातमार्फत काठमाडौँ फर्किएका थिए । त्यसपछि संकटा मन्दिरको गल्ली हुँदै दिदीको घर बसेर राति ११ बजे सहिदगेट पुगेका थिए र तारबार नाघेर जंगीअड्डामा प्रवेश गरेका थिए ।
आपराधिक उपद्रवको कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । उनलाई सोही सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।