Butwal Today

 दाङमा पानी बा का रुपमा चिनिएका डिसिको निधन 

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

दाङ,१६ कात्तिक ।

घोराही खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ ।

पानी बा को नामबाट समेत चिनिने डिसी लामो समय खानेपानी संस्थाको अध्यक्ष भएर सेवा गरेका थिए  । २०५३ सालमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको स्थापना भयो । संस्था स्थापनाकालदेखि नै उक्त संस्थामा आबद्ध भएका डिसी औपचारिक रूपमा भने २०५४ सालमा संस्थाको सदस्य बनेका थिए ।

दुई कार्यकाल सदस्य भएर काम गरेका उनी २०६० सालमा अध्यक्ष पदका लागि निर्वाचनमा होमिए। पहिलो प्रयासमै उनी निर्वाचित भएका थिए  । त्यस बेला आफ्नै दल नेपाली काँग्रेसका नेता राजु खनाललाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसयता संस्थामा निरन्तर निर्वाचित हुँदै आएका  डिसी कहिले दलले टिकट दियो, कहिले स्वतन्त्र उठे । २०६० र २०६६ सालमा स्वतन्त्रबाट उठे भने २०६३ र २०६९ मा निर्विरोध भएका थिए । पछिल्लो पटक २०७९ असारमा भएको निर्वाचनमा जितेर सातौँ कार्यकाल सम्हाल्दै आएका थिए ।

डिसी खानेपानी संस्थासँगै विभिन्न सामाजिक सङ्घ संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम समेत गरेका थिए । घोराहीमा खानेपानीको सुविधा पुर्‍याउन देबिबहादुरको ठुलो योगदान छ । ८० वर्षको उमेरमा निधन भएका डिसीको आजै घोराही -१८ सन्खे पिपल घाटमा अन्तिम संस्कार गरिएको छ।