© २०२३
प्रेममा परेपछि दुःख, अस्वीकार वा छुट्नुको पीडा गहिरो हुन सक्छ । तर, यसकै कारण आत्महत्या कहिल्यैं समाधान होइन र हुनुपनि हुँदैन ।
मानवीय जीवन प्रेम भन्दा ठूलो र महत्वपूर्ण छ । आधुनिकतासंगै अहिलेका युवायुवती जब प्रेममा खटपट आउन थाल्छ अनि जीवन नै सिध्याउने तिर लागेको देखिन्छ ।
अझ बढी त छोराहरू भन्दा धेरै छोरीहरूले प्रेमलाई सर्वश्व ठानेर परिवार, समाज, दायाँवायाँ केही नसोचिकन आफ्नो सुन्दर जीवन छिनभरमा सिध्याएका छन् । साँच्चिकै भन्नु भन्दा प्रेम सामान्य हो, उमेर पुगेपछि स्वाभाविक रूपमा हुन्छ ।
पहिलो छुटे दोस्रो, तेस्रो क्रमश भेटिदै जान्छन । एक पटक सोच्नुहोस त मानवीय जीवन दोस्रो पटक कसैले पाउन सक्छ ? हो जीवन मूल्यवान छ । यसलाई सुन्दर बनाउने जिम्मापनि तपाई हाम्रै हो । कञ्चनपुरकी २२ वर्षिया आँचलनाथ आफ्नो करियर बनाउनका लागि केहि समयदेखि काठमाण्डौमा बस्दै आएकी थिईन् । उनी मोडलिङ र टिकटकमार्फत सामाजिक संजालमा सक्रिय थिईन ।
२०८२ असोज महिनामा एक घरमा शरीरमा पेट्रोल छर्केर आगोले जलेको अवस्थामा उनी भेटिएकी थिईन । प्रहरीले प्रारम्भिक निष्कर्षमा आत्मदाह गरेको ठहर गरेको छ । तर, उनका परिवारले भने आत्मदाह नभएर आगो लगाएर हत्या गरेको भन्ने शंका व्यक्त गरेका छन् ।
उक्त घटनामा संलग्न भएको आशंकामा केहि व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ र प्रहरीले अनुसन्धान गरिरहेको अवस्था छ । यसको एक महिनापनि नवित्दै २०८२ कार्तिक १ गते शनिबार काठमाण्डौ स्थित एक म्युजिक स्टुडियो परिसरमा आफैंलाई आगो लगाएकी गायिका नितु पौडेलको उपचारको क्रममा कार्तिक ७ गते मृत्यु भएको खवरले सबैलाई स्तव्ध वनाएको छ ।
गायीका नितु पनि प्रेम सम्बन्धमा दरार आउन लागेपछि आत्मदाहको बाटो रोजेको भन्दै केहि समाचार र सामाजिक संजालमा लेखिएका पोष्टहरूले दर्शाएको छ । उनको परिवारले पनि आत्मदाह नभएर हत्याको आरोपमा उनका प्रेमी प्रति शंका गर्दै प्रहरीमा जाहेरी दर्ता गरेको छ ।
यथार्थमा आत्मदाह हो भने उनीहरूको आत्माले शान्ति पाओस् । र अनुसन्धानका क्रममा हत्या ठहर भएमा घटनामा संलग्न दोषीलाई कानुन वमोजिमको कारवाही र उनीहरूको परिवारले न्याय पाउन भन्ने कामना छ । उनीहरू त सार्वजनिक रूपमा परिचित भएका कारण घटना वाहिर आयो । यसरी सर्वसाधरण छोरीहरू विभिन्न कारण मारिएका घटनाहरू त दिनहुँ भईरहेको छ ।
प्रेमका नाममा यो समाजमा सधैं छोरीहरू मात्र मारिन र मर्न पर्ने हो त ? यसमा प्रेम गरेको जोडी मात्र नभएर परिवार, समाज र राज्य समेत दोषी देखिन्छ । किनकी पुरुषलाई जे गर्दा पनि छुट महिलालाई कसैसँग नाम जोडिएमात्र पनि अनेक लाञ्छना लगाईन्छ र जीवन सकाउन बाध्य बनाईन्छ ।
आत्मदाह तथा हत्याका कारणहरू धेरै हुन सक्छन् । जस्तो मानसिक रोग, गम्भिर तथा पीडादायक शारीरिक रोगहरू (क्यान्सर तथा एड्स), शैक्षिक असफलता, प्रेममा विछोड, वैवाहिक सम्बन्धमा खटपट, अवैध गर्भ, सामाजिक अपमान तथा बहिस्कार, झुटो आरोप, उपेक्षा, लाञ्छना, गरिबी, जवर्जस्ती करणी, पारिवारिक तथा सामाजिक द्वन्द्व, मद्यपान, दुव्यर्सन आदि ।
वर्तमान समयमा अन्य कारण भन्दा प्रेमका कारण आत्मदाह तथा आत्महत्याका घट्नाहरू वढेको नेपाल प्रहरीको तथ्यांकमा देखिन्छ । प्रेमसँग जोडिएका अपराधका घटना संसारभर घट्ने गरेका छन् ।
प्रेममा धोका भएपछि हत्या गर्ने, आत्महत्या गर्ने, दुव्यर्सनमा फस्ने, सम्बन्ध बिग्रिएपछि सामाजिक संजालमा अश्लील गालीगलौज गर्ने, नग्न तस्बिर र भिडियोहरू इन्टरनेटमा अपलोड गरेर चरित्र हत्या गर्ने, प्रतिशोधको अस्त्रका रूपमा प्रयोग गर्ने, सम्बन्धमा रहँदा खिचिएका गोप्य भिडियोहरूमार्फत जबरजस्ती सम्बन्ध बनाउन दबाब दिने गरिएको देखिन्छ ।
अर्कोतर्फबाट हेर्ने हो भने आर्थिक प्रयोजनका लागि प्रेमको नाटक गरि ब्ल्याकमेलिङ गर्ने नियतजन्य घटनाहरू पनि बढ्दो क्रममा छ । कतिपय अवस्थामा प्रेमी प्रेमिकाहरूले केहि बेरको आवेगलाई नियन्त्रण गर्न नसक्दापनि यस्ता घट्ना घट्ने गरेको अधिकारकर्मीहरू बताउँछन् ।
आखिर सबैभन्दा निकट र प्रगाढ मानिने प्रेम सम्बन्ध टुटेपछि ज्यानै लिने वा चरित्र हत्या गर्ने किसिमले मानिसहरू प्रतिशोधमा उत्रिएको समाजमा पाईन्छ । अपराध शास्त्रीका अनुसार आधुनिकताका नाममा छाडापना भित्रिएकाले प्रेम जस्तो पवित्र बन्धनमा अपराधजन्य विकृतिहरू देखापर्न थालेका हुन ।
यो अहिलेको पुस्तामा देखिएको छाडापनको परिणाम भएको उनीहरूको तर्क रहेको छ । किनकी युवायुवतीहरूबीच भावनात्मक प्रधानता हुन्छ, परिपक्वता नआएका कारणले अपेक्षाको सम्बन्ध हुन्छ । अपेक्षा पूरा नहुँदा निराशा र डिप्रेसनमा परिवर्तन हुन्छ । र अन्त्यमा डिप्रेसन बदलाका रूपमा अपराधकर्ममा प्रकट हुन्छ ।
नेपाल प्रहरी केन्द्रिय कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ६,८६६ जनाले आत्महत्या गरेका छन् । नेपाल विश्वमै सर्वाधिक आत्महत्या हुने मुलुकको सातौं स्थानमा रहेको छ । पक्कैपनि सकाउला वा सकिन्छु भनेर कसैले पनि प्रेम गर्दैन । प्रेम भन्ने शब्द जति ओझिलो छ त्यति नै सम्बन्धमा पनि बलियो रूपमा विश्वास जरुरी देखिन्छ ।
यसर्थ पवित्र प्रेम कुन अवस्थामा पुगेपछि अपराधमा परिवर्तन हुन्छ भन्ने विषय प्रमुख रहन्छ । मनोविदका अनुसार सम्बन्धमा ब्रेकअप भएपछि सहन नसकेर आत्महत्या हुन सक्दैन । त्यसमा अस्वीकार गरेर अपराध हुने हो । जातीय, आर्थिक विपन्नता तथा कतिपय अवस्थामा भौगोलिक हिसावले बेमेल हुने र प्रेम सम्बन्ध टुटेपछि त्यसले आत्महत्याको रूप लिने गरेको छ ।
आत्महत्याको प्रमुख कारण मानसिक कमजोरी हो । एकजना मनोविदकै शब्द सापटी लिएर भन्नुपर्दा टिनएजमा केटाकेटीहरू एक–अर्काप्रति आकर्षित हुने र प्रेममा पर्ने घटनाहरू धेरै हुन्छन् । यो समयमा भविष्यका दृष्टिले तिम्रा लागि ठिक होईन, अहिले तिम्रो पढ्ने बेला हो, यो संग तिम्रो भविष्य राम्रो हुँदैन जस्ता कुरा गरेर परिवारले दिने दबाबका कारण आत्महत्या हुने गरेको वेसी देखिन्छ ।
परिवारले दिएको दबाबबाट फ्रस्टेसन हुँदै युवायुवतीहरू आफैलाई सिध्याउने अवस्थामा पुग्छन् । यसप्रति हाम्रो सामाजिक एवं साँस्कृतिक पक्षहरूले पनि दबाब दिने कामलाई प्रोत्साहन गरेको देखिन्छ । किनकी फलानोका छोरा वा छोरी त कस्तो इज्जत नभएको लभ गर्दै हिड्छन रे, उस्तो रे, यस्तो रे, कति इज्जत नै नभएको जस्ता कुराले टिनएजहरूमा मानसिक वितृष्णा हुन्छ र अनन्तमा आत्महत्या गर्ने स्थितिमा पु¥याँउछ ।
यसरी अरूलाई सिध्याउने जुन प्रकारको उत्तेजना देखिन्छ, त्यसलाई मनोसाइड भनिन्छ । उमेर अनुसार सामाजिक, साँस्कृतिक एवं मानसिक रूपमा स्वस्थ नहुँदा मानिस आफैलाई अथवा अर्कोलाई सिध्याउने तहमा पुगेको हुन्छ ।
यो अवस्थामा परिवारको ध्यान उ माथि पुगिसकेको हुँदैन । अझै यति हुँदासम्म परिवारले आफ्नो सन्तानमा देखिएका यस्ता लक्षणहरूलाई सामान्य रूपमा लिएको हुन्छ । जहाँसम्म प्रेममा अपराध हुने कुरा छ ।
त्यो भन्दा पहिले वास्तविक प्रेम थियो कि थिएन भन्ने कुरा थाहा पाउन उत्तिकै जरुरी देखिन्छ । कतिपय यस्तो अवस्था आउनुमा एकतर्फी आकर्षण मात्रपनि हुन सक्छ । यस्ता घटना प्रेम भन्दापनि मानसिक इलनेसकै कारण घट्ने गरेका छन् ।
जस्तो उदाहरणको रूपमा प्रेम सम्बन्धमा रहेको केटाकेटीबीच केटाले केटीलाई धेरै शंकाको दृष्टिले हेर्न थाल्यो । उसलाई आवश्यक भन्दा बढी नियन्त्रणमा राख्न खोज्यो भने त्यस्तो अवस्थामा केटीले पनि आफ्नो स्पेस खोज्न थाल्छे ।
त्यो स्पेसको विषयलाई लिएर केटाकेटीबीच असमझदारी उत्पन्न हुन्छ र अपराधिक घटनासम्म पुग्ने गरेको बर्तमान परिवेशमा देखिन्छ । सामान्य अवस्था वा स्वस्थ मानसिकता भएको अवस्थामा यस्ता अपराधिक घटनाहरू घटन सक्दैनन् ।
जव प्रेमबाट तपाई दुःखी हुनुहुन्छ नी त्यो समयमा आफूलाई बुझ्ने, समर्थन गर्ने परिवारका सदस्य, साथी वा अन्य मानिसहरूसंग कुरा गर्नु नै सबैभन्दा बलियो कदम हो । त्यस्तो अवस्थामा परामर्शदातासंग कुरा गर्नु वा मानसिक स्वास्थ्य सहयोग लिनु एकदम जरुरी हुन्छ ।
जे गर्दा आफूलाई सहज हुन्छ त्यही गर्नु नै उत्तम देखिन्छ । प्रेम मानव जीवनको एक गोलचक्कर हो । परिवार, नातागोता हर जो कोेईसंग प्रेमले बाँधिरहेको हुन्छ । रह्यो कुरा पति पत्नी वा प्रेमी–प्रेमीकाको सम्बन्धको । प्रेम गर्ने, ठाकठुक पर्ने, ब्रेकअप हुनेक्रम उनीहरूमा चलिरहन्छ ।
प्रेम सम्बन्ध किन सधैं सुमधुर हुँदैन भन्ने विषयमा कारणहरू धेरै हुन सक्छन् । ति मध्ये सबैभन्दा मुख्य कारण विश्वास गुमाउनु हो । भनिन्छ नी प्रेम विश्वासमा टिकेको हुन्छ । त्यसैले प्रेम सम्बन्धलाई जोड्ने सबैभन्दा मुख्य तत्वपनि विश्वास हो ।
त्यससंगै दुवैबीच समझदारीको पनि उत्तिकै आवश्यक हुन्छ । एक अर्कालाई गर्ने सदभाव, केयरिङ त छदैछ । दुबैबीच यतिसम्म भयो भने कुनै पति पत्नी वा प्रेमी प्रेमिकाले जीवनमा धोका खानु पर्दैन । तर यहाँ त छिनछिनमा विश्वास तोड्ने र जीवन नै सकाउने काम भईरहेको छ ।
यसको न्यूनिकरणका लागि घर परिवार र समाजबाट संस्कार सिकाउन आवश्यक देखिन्छ । जीवनको उद्देश्य, जिउनुको आनन्द र समाजमा त्यसले ल्याउने सकारात्मक रूपान्तरण नै संस्कार हो ।
समाजमा हुने हिंसा, हत्या र बलात्कार समाजको संस्कृतिबाट भन्दापनि व्यक्तिको संस्कारबाट हुने घटनाहरू हुन । वर्तमान अवस्थामा संस्कृत तथा नैतिक शिक्षा अध्यापन नहुनुले नेपाली संस्कार हराउँदै गएको पाका पुस्ताहरू गुनासो गर्छन ।
आत्मिकता, संयमता, नैतिकता र इमान्दारिता व्यक्तिका सर्वोच्च संस्कार हुन । आफूले कस्तो संस्कार अंगाल्ने व्यक्तिको रोजाई हो । तर अवपनि व्यक्ति, परिवार, समाज र राज्य सचेत हुन सकिएन भने यो सुन्दर मानव जीवन ब्यर्थमा बित्ने निश्चित देखिन्छ ।