© २०२३
बुटवल, १६ कार्तिक ।
गुणस्तरीय मातृ शिशु सेवा प्रदान गर्ने उद्देश्यका साथ बुटवलमा स्थापना भएको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले २७ वर्ष पुरा गरेको छ ।
स्थापना दिवसको अवसरमा आइतबार नयाँ शैक्षिक भवन उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य सङ्घ र आम्दा नेपालको त्रिपक्षीय सहकार्यमा सञ्चालनमा रहेको अस्पतालमा फार्मेसी, हेल्थ एसिस्टेन्स र नर्सिङ गरि ३ विषय अध्ययन हुने ३ कोठे शैक्षिक भवनको उद्घाटन गरिएको हो ।
जापानिज नागरिक तथा आम्दाका पूर्व कर्मचारी समेत रहेका सुन्सुके सुजुकीको समन्वयमा आम्दा हेगो, आम्दा माईन्सको करिब ३२ लाख रुपैया सहयोगमा सो कोठा निमार्ण भएको हो ।
कार्यक्रमको एक समारोहका बिच आम्दा माईन्स अध्यक्ष सुन्सुके सुजुकी, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । बुटवल उपमहानगरपालिकाको पहलमा ३ सय बेडको रूपमा बिस्तार गर्ने गरि डिपिआर तयारीको काम अघि बढेको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बताए ।

आम्दा ईन्टरनेश्नलको सहयोगमा मेडिकल कलेजको रूपमा विकास गर्ने ३२ देशका विद्यार्थीहरूलाई अध्ययन गर्न सक्ने उनले बताए । आमा सुरक्षा कार्यक्रम सेवा सञ्चालनको मन्त्रालयमा पटक पटक पहल थालेको भए पनि त्यो सफल हुन नसकेको उनले दुखेसो गरे ।
हरेक विकासको इतिहासलाई स्मरण गर्न जरुरी रहेको भन्दै अस्पताल स्थापनाको विषयमा राम्रो ज्ञान लिन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा आम्दा माईन्सका अध्यक्ष सुन्सुके सुजुकीले यस क्षेत्रमा रहेको स्वास्थ्य सेवाको न्युन पहुँचलाई मध्यनजर गरि जापान नागरिक र सरकारको सहयोगमा अस्पताल निमार्ण भएको बताए ।
आफू अस्पतालमा स्थापना कालमा रहँदा आम्दाबाट भएको सेवा, पूर्वाधार विकास निर्माणको बारेमा स्मरण गरे । आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिवद्घता समेत जनाए ।
कार्यक्रममा अस्पतालका मेसु डा बिनोद पराजुलीले आर्थिक वर्ष २०८१/२०८२ को प्रगति विवरण पेस गर्दै काठमाडौँ बाहिर पहिलो बाल तथा महिला अस्पतालका रूपमा स्थापना भएको पहिलो पाच वर्ष च्यारिटि अस्पतालका रूपमा सञ्चालनमा आएको बताए ।
सुरुवातमा ५० बेडबाट सुरु भएको अस्पताल अहिले १०० बेडको स्वीकृति भएको तर डेढ सय बढी सेवा दिँदै आएको उनले बताए । आम्दा जापानले पुरै खर्च दिने गरि सञ्चालन भएको र त्यसपछि स्थानीय व्यवस्थापन समितिको जिम्मेवारीमा आएको हो ।
अस्पताललाई रिफरेस सेन्टरमात्र नभई तालिम र रिसर्च सेन्टरका रूपमा चलाउने लक्ष्य रहेको छ । बालबालिकाहरूलाई दिइने नेपाल सरकारबाट दिइने खोप सेवाहरू समेत दिँदै आएको छ । टाईप वान डाईबेटिज भएकाहरूलाई समेत निःशुल्क इन्सुलिनसहितको सेवा दिँदै आएको छ । कुपोषण रोकथामका लागि कार्यक्रम सञ्चालन गरेको छ ।
अस्पतालबाट महिला र बच्चाको समानुपातिक रूपमा सेवा दिने भनिए पनि तथ्याकमा भने बालबालिकाहरुले बढी सेवा लिने देखिएको अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष हरि अर्यालले बताए ।
महिला बिरामीहरुलाई लक्षित गरि सेवा बिस्तार र गुणस्तर सेवामा जोड दिने गरि अघि बढ्ने उनले प्रतिबद्धता जनाए । अस्पतालमा ओपिडी, पिडियोटिक, पिडियोटिक सर्जरी, जेनेरेल, गाईनोक्लोजिस्ट, एनआईसियु, पिआईसियु, एचडियु लगायतका सेवा दिँदै आएको छ ।
अस्पतालमा महिलाको पाठेघर क्यान्सर, थालासेमिया रोग परीक्षण र उपचार समेत हुदै आएको छ । अस्पतालले १० वर्षमा ओपिडी ३ लाख ९५ हजार ६ सय ८२, ईमेरजेन्सी २ लाख ६३ हजार ६ सय ९५ जना, भर्ना २ लाख २ हजार ८ सय ४७ जना, डेलिभरि नर्मल र सिजर गरि ४६ हजार २ सय ३८ जनाले सेवा दिएको छ ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत दक्ष जनशक्ति उत्पादनमा समेत योगदान दिँदै आएको छ । अस्पतालमा २५ बढी विभागिय प्रमुखहरु छन् । अध्ययन र रिसर्चमा जोड दिँदै आएको छ । अस्पतालमा ३९० घण्टाको सर्ट टम केयर गियरको तालिम समेत हुदै आएको छ ।
यसैबिच अस्पताललाई सहयोग गर्ने आठ संस्थाहरुलाई सम्मान पत्रबाट सम्मान गरिएको छ । लुम्बिनी प्रदेशका गुल्मी, प्युठान, अर्घाखाँचीसहित भारतबाट समेत १० प्रतिशत भन्दा बढी सेवा लिने गरेका छन् ।