Butwal Today

चोरीको घटना बढ्दा प्रहरी रमिते

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

बुटवल, १६ कार्तिक ।

देशमा आएको राजनीतिक परिवर्तन र चाडपर्व सकिएसँगै बुटवल क्षेत्रमा चोरीका घटनाहरू बढेका छन् । जेनजी आन्दोलनमा प्रहरी प्रशासनको मनोबल घट्दा आम नागरिकको सुरक्षामा चुनौती देखिएको हो ।

दसैँ लगत्तै बुटवल आसपासमा दैनिक जसो चोरीका घटनाहरू बाहिरिएको छ । सबैभन्दा ठुलो जनसङ्ख्या भएको वडा नं. ११ मा धेरै घटना भैरहेको स्थानीयहरूको गुनासो छ । वडा नं. ११ का हसन्त लामाको घरमा दुई जना चोर पसेको छ ।

घरभित्र पसेर सुकुटी निकाल्दै गर्दा उनले चोरलाई लखेट्न सफल भए । चोरीमा १४/१५ वर्षका युवाहरू रहेको उनी बताउँछन् । ‘समात्न खोजेको तर सकिन,’– उनले भने । देविनगरस्थित प्रधान पथमा दुई घरबाट बुलेट र सुकुटी चोरी भएको उनी बताउँछन् ।

तिहार लगत्तै सो क्षेत्रमा ४ वटा घरमा चोरी भएको घटना उजुरीका लागि प्रहरीमा आएको छ । घटना धेरै भए पनि प्रहरीमा उजुरी भने कम पर्ने उनी बताउँछन् ।

वडा नं. ११ का जनप्रतिनिधि नहकुल शाहीले आफ्नो सामाजिक सञ्जालमा चोरीका घटनाहरू दैनिक जसो सार्वजनिक गरिरहेका छन् । वडा नं. १३ मा पहेँलो सुकुटी चोरी भएको, भाइटिकाको दिन घर फोडेर ६.५० तोला सुन चोरी भएको र कागजपत्र खेतमा फालेका फोटाहरू सार्वजनिक गरेका छन् ।

वडा नं. ११ का एकान्त र भित्री क्षेत्रमा चोरीका घटना भएको वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । सडकका बिजुली बत्ती फोड्ने, सार्वजनिक सम्पत्ति तोडफोडसँगै कतिपय सर्वसाधारणका घरमासमेत चोरी भएको घटना रहेको उनले बताए ।

वडाको खोला पारी नहरपुर क्षेत्र र सिरनगाउ (मजुवा) मा बढी चोरीका घटनाहरू भएको जानकारीमा आएको उनले बताए । चाडपर्वको अवसरमा बन्द घरमा लत्ताकपडा, सरसामानहरू चोरी भएको घटनाहरू बढी रहेको उनी बताउँछन् ।

यता इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पछिल्लो ३ आर्थिक वर्षमा १२० चोरीका घटनाहरू दर्ता भएको जनाएको छ । आर्थिक वर्ष २०८०/२०८१ मा ५९ मुद्दा दर्ता भएको र ८४ जना पुरुष र ७ जना महिला प्रतिवादी पक्राउ परेको छ ।

यसै गरी आर्थिक वर्ष २०८१/२०८२ मा ४६ मुद्दा दर्ता भएको छ भने ८० जना पुरुष र ४ जना महिला प्रतिवादीहरू पक्राउ परेका छन् । पछिल्लो आर्थिक वर्ष २०८२/२०८३ को ३ महिनाको अवधिमा १५ मुद्दा दर्ता भएको छ भने २४ जना पुरुष र १ जना महिला प्रतिवादी पक्राउ परेको प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बताए ।

चोरीका घटनाहरू धेरै घटे पनि प्रहरीमा भने दर्ता न्यून हुने गरेको स्थानीय अगुवाहरू बताउँछन् ।