© २०२३
काठमान्डौ, १५ कार्तिक ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका कार्यकर्ताहरूलाई ‘घर फर्कने’ आह्वान गरेको कदमलाई पार्टीका सचिव योगेश भट्टराईले स्वागत गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै भट्टराईले पार्टीभित्र एकता र सुदृढीकरणका लागि चारवटा ठोस प्रस्ताव पनि अघि सारेका छन् ।
भट्टराईले लेखेका छन्, “नेकपा एमालेको निर्माणमा योगदान पुर्याएका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि अध्यक्षज्यूले गर्नुभएको आह्वान स्वागतयोग्य र समयसापेक्ष छ ।” उहाँका अनुसार, “जनताको बहुदलीय जनवाद (जवज) को मार्ग निर्देशनमा एमालेको नेतृत्वमा समग्र वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो ।”
सचिव भट्टराईले निषेध, प्रतिशोध र घृणाको भावना त्यागी सहकार्य र सहअस्तित्वका माध्यमबाट पार्टी सुदृढ र एकताबद्ध बनाउन सकिने बताएका छन् । उनले ‘जनताको बहुदलीय जनवाद’ लाई एकताको प्रमुख वैचारिक आधारका रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गरे ।
त्यस्तै पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने, भदौ २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गरी पार्टीको बहुआयामिक पुनर्गठन गर्ने र आगामी प्रतिस्पर्धामा एमालेलाई विजयी बनाउने र एमालेको नेतृत्वमा आर्थिक र सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ ।
चार वर्ष अघि एमालेबाट विभाजित बनेको एकीकृत समाजवादी माओवादीसँग एकताको निर्णयमा पुगेको छ। सो निर्णयसँग असहमति जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालसहितका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
यस्तै विवादबीच एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका कार्यकर्ताहरूलाई पुनः ‘घर फर्कन’ आह्वान गरेका थिए ।