Butwal Today

गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा बिहानैदेखि श्रद्धालुहरूको घुँईचो

१५ कार्तिक २०८२, शनिबार
अ+
अ-

 गुल्मी, १५ कात्तिक ।

हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको पवित्र धार्मिक स्थल रेसुङ्गामा आज बिहानैदेखि श्रद्धालुहरूको घुँईचो लागेको छ । एकादशीको दिनमा धार्मिक स्थल रेसुङ्गाको महापोखरीमा स्नान र पूजाआजा गर्नका लागि रेसुङ्गा क्षेत्रमा श्रद्धालुहरूको घुँईचो लाग्ने गर्दछ ।

हरिबोधिनी एकादशीको दिन रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीको पानीले स्नान गरेपछि चारधाम जानु पर्दैन भन्ने मान्यता छ ।

महापोखरीमा स्नान गरेसँगै  त्यस नजिकै रहेको यज्ञ शाला र सिद्ध स्थान मन्दिरमा पूजाआजा गरेमा मानिसले आफूले अज्ञानमा गरेका संम्पुर्ण पापहरु समेत नष्ट भई पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ  ।

त्यही धार्मिक विश्वासका कारण गुल्मी लगायत छिमेकी जिल्लाहरूबाट महापोखरीमा स्नान गर्न आज बिहानैदेखि भक्तजनहरूको घुँईचो लागेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए ।

रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा चारधामवाट ल्याएको जल मिसाइएको हुँदा यहाँको पोखरीको पानीले स्नान गर्नाले चारधाम जानु पर्दैन भन्ने मान्यता छ ।

रेसुङ्गाको महापोखरीमा स्नान र पुजाआजाका लागि गुल्मी लगायत अर्घाखाँची, पाल्पा, स्याङ्जा, वाग्लुङ्, प्युठान, रुपन्देही लगायत धेरै टाढा टाढाबाट समेत श्रद्धालुहरू आउने गर्दछन् ।

एकादशीको अवसरमा रुद्रवेणी र काली गण्डकी नदीमा पनि आज बिहानैदेखि स्नान तथा पूजापाठ गर्नेहरूको घुइँचो लागेको छ । ठुलो एकादशीको रूपमा चिनिने हरिबोधिनी एकादशीलाई गुल्मीमा विशेष महत्वकासाथ मनाउने गरिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?