© २०२३
लमही, १५ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाका युवा कृषक सुदिप चौधरीले सञ्चालन गरेको माछा पोखरीमा रहेका सबै माछा मरेको छ । निरन्तर बेमौसमी वर्षा र घाम–छायाँका कारण पोखरीमा अक्सिजनको कमी हुँदा माछा मरेको चौधरीले बताए ।
बराहदेव कृषि फर्मअन्तर्गत करिब १० कट्ठामा बनेको पोखरीमा चौधरीले दुई वर्षदेखि माछा पालन गर्दै आएका थिए । सुरुवाती चरणमा राहु, कमन, सिल्भर र ग्रास जातका करिब ६ क्विन्टल माछाका भुरा पोखरीमा राखिएका थिए ।
ती माछा हाल करिब तीन किलोसम्म तौल पुगेका थिए । तर पछिल्ला तीन दिनको लगातार वर्षाका कारण पोखरीमा रहेका करिब १० क्विन्टल माछा एकै पटक मरेका छन् । माछा मरेपछि चौधरीको दुई वर्षको लगानी र मेहनत खेर गएको छ ।
“आम्दानीको आशामा दुई वर्षदेखि मिहिनेत गरेको थिएँ, तर मौसमकै कारण सबै माछा मरे । अब ठेक्काको पैसा बुझाउने चिन्ता थपिएको छ,” चौधरीले भने । चौधरीका अनुसार माछाको बजार मूल्य प्रति किलो करिब चार सय रुपैयाँ पर्ने हुँदा करिब चार लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
साथै भुरा खरिद, दाना र जग्गा भाडासहित झन्डै १० लाख ५० हजार रुपैयाँ बराबरको कुल क्षति भएको उनले बताए । पोखरीमा अहिले करिब तीन हजार साना ‘बैखा’ माछा मात्र बाँकी छन् । २१ वर्षका युवाले नेपालमै केही गर्ने उद्देश्यले माछा पालन सुरु गरेका थिए ।
यसैबिच वडा अध्यक्ष खुसीराम चौधरीका अनुसार प्रभावित कृषकको क्षतिको विवरण सङ्कलन भइरहेको छ । प्रहरी नायब निरीक्षक एकबहादुर खड्कासहितको टोली घटनास्थलमा पुगेको र विवरण सङ्कलन गरी वडा मार्फत उपमहानगरपालिकाको विपद् शाखामा सिफारिस गरिने वडाध्यक्षले जानकारी दिए ।
उनका अनुसार प्राकृतिक विपत्तिबाट प्रभावित बनेका युवा सुदिपका लागि वडा र स्थानीय तहले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।