© २०२३
काठमाडौँ, १५ कात्तिक ।
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ । शनिबार दुबईस्थित आइसीसी एकेडेमीमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २ सय ७२ रनको लक्ष्य अमेरिकाले ६ बल बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गर्यो । अमेरिकाका साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारले चौथो विकेटका लागि १ सय २३ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिततर्फ अग्रसर गराएका थिए ।
साइतेजा मुक्कमल्लले सर्वाधिक ७५ रन बनाए । उनले १ सय १ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै उत्कृष्ट इनिङ्स खेलेका थिए । करण केसीको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका उनी अमेरिकाको जितका आधारशिला बने ।
मिलिन्द कुमारले ६६ बलमा ७ चौका र १ छक्कासहित ७० रनको योगदान दिए । उनलाई सन्दीप लामिछानेले भीम सार्कीको हातबाट क्याच आउट गर्न सफल भए । सयान जहानजिरले ३६ रन बनाए भने कप्तान मोनांक पटेल २१ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । ओपनर स्मिथ पटेल १६ रनमा गुल्सन झाको बलमा एलबीडब्लु आउट भए ।
नेपालका बलरहरूमा सन्दीप लामिछाने सर्वाधिक प्रभावशाली रहे । उनले ३ विकेट लिए भने नन्दन यादव, करण केसी र गुल्सन झाले समान १–१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल एक बल बाँकी रहँदै २ सय ७१ रनमा अलआउट भएको थियो । अलराउण्डर दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ७५ रनको योगदान दिए ।
उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे । करण केसीले ४९, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन जोडे ।
अमेरिकाका बलर हरमित सिंहले ३ विकेट लिए भने सौरभ नेत्रावल्कर र नोस्टुस ले समान २ विकेट झारे । जसदीप सिंह र शुभम रजानेले समान एक–एक विकेट आफ्नो नाममा गरे ।
सिरिजको आफ्नो चौथो खेलमा नेपालले बुधबार युएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि युएईसँगको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो ।