© २०२३
जितपुर, १५ कार्तिक ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–६ लक्ष्मणघाट चोकमा दिनदहाडै एक महिलाको सुनको सिक्री लुटिएको छ ।
चिया–नास्ता र किराना पसल सञ्चालन गर्दै आएकी ६५ वर्षीया भीमाकुमारी खनालमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले लुटपाट गरेका हुन् ।
शनिबार दिउँसो करिब ४ बजे, ती व्यक्तिहरूमध्ये एक जना आधा घण्टा जति पसलमै बसेका थिए । सोही क्रममा खनालले घाँटीमा लगाएको करिब एक तोलाको सुनको सिक्री जबरजस्ती थुतेर मोटरसाइकलमा भागेको स्थानीय हुमानाथ भट्टराईले जानकारी दिए ।
लुटपाटपछि दुवै जना लुटेरा खारखानी हुँदै रामदत्तिवनतर्फ भागेका थिए । घटनाको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा प्रहरी टोलीले सबै नाकामा व्यापक रूपमा सर्च अपरेसन सञ्चालन गरेको जनाएको छ ।
प्रहरीका अनुसार लुटेराको पहिचानका लागि अनुसन्धान जारी छ ।