© २०२३
१. पूर्व कोशलको यथार्थ चित्रण
रामायण र विभिन्न पुराणहरूमा उल्लेख भएको “पूर्व कोशल” प्रदेश उर्वर भूभाग थियो । त्यहाँ चार वटा प्रमुख नदीहरू बहन्थे — तमसा, राप्ती, सरयू र गण्डकी । यी चारै नदीहरू आजको नेपालको चितवन र आसपासका क्षेत्रहरूमा अवस्थित छन् ।
यो क्षेत्र पहाड र तराईको सङ्गम स्थलमा अवस्थित छ– उर्वर माटो, हरियो वन र जलस्रोतहरूको मुहान भएकोले, यसलाई प्राचीन वैदिक संस्कृतिमा “देवभूमि” भनिएको छ । यही भू–भागलाई पूर्व कोशल भनिन्थ्यो, जहाँ रामायणकालमा अयोध्यापुरी राजधानी र बसोबास क्षेत्र थियो ।
नेपालका पुराना बटुवाहरू, विशेषतः पाल्पा, तनहुँ र नवलपुरका तीर्थ–यात्रीहरू, त्रिवेणी (काली, गण्डकी र त्रिशूलीको सङ्गम) जाँदा “राम–सीता अयोध्यापुरीमा बस्ने र लव–कुश त्यहीँ जन्मिने” भन्ने वैदिक परम्पराको श्रुति–स्मृति सुनाउने गर्थे । त्यो मौखिक संस्कार अहिले पनि गाउँघरका वयोवृद्धहरूमाझ जीवित छ– जसले नेपालकै माडीलाई “राम–सीता–लव–कुशको भूमि” भनेर बोध गर्छ ।
२. अयोध्यापुरीमा राम–सीताको वास
जनकपुरमा विवाहपछि राम र सीता पूर्व कोशलको राजधानी अयोध्यापुरीमा बसेका थिए । त्यस बेला कोशल राज्यका दुई प्रशासनिक केन्द्र थिए–अयोध्या (पश्चिम) जहाँ दशरथ राजसिंहासनमा थिए र अयोध्यापुरी (पूर्व) जहाँ रामले शासनमा सहयोग र जनसेवा गर्थे ।
अयोध्यापुरी नै त्यो स्थान हो जहाँ विश्वामित्रको आश्रम, सिद्धाश्रम, र लव–कुश जन्मस्थल रहेको प्रमाणित छ । गण्डकी र राप्तीको बिचको क्षेत्र अहिले पनि लोक श्रुति, भजन, कथा र स्थानीय नाममा रामायणका घटनाहरू बोकेर बसेको छ ।
३. लङ्का विजय र दशमीको आरम्भ
रामले रावणमाथि विजय हासिल गरेको दिन चैत्र शुक्ल दशमी थियो । तर लङ्काबाट अयोध्यापुरी फर्कँदा केही महिना लाग्यो । राज्यारोहण गर्दा शारद ऋतु सुरु भइसकेको थियो । त्यसैले शारदीय दशमीमा विजय उत्सव मनाइयो ।
त्यो नै आजको विजया दशमी (दसैँ) को प्रारम्भ हो । त्यो बेला रामराज्यका जनताले रातो टीका र अन्नको जमरा लगाएर विजयको प्रतीक मनाए । भूमि पूजन, पशु पूजन र अन्न पूजन गरेर देवी शक्तिलाई धन्यवाद दिए । त्यही परम्परा कालान्तरमा नेपालको प्रत्येक भूभागमा फैलियो ।
४. अयोध्यापुरी र दसैँको सांस्कृतिक प्रभाव
अयोध्यापुरी सभ्यताका मूल्यहरू– भूमिप्रतिको कृतज्ञता, अन्नप्रतिको श्रद्धा र श्रमप्रतिको सम्मान । नेपालका कृषक जीवनमा गहिरो रूपमा बसालिएको छ यी मान्यताहरू– जमरा स्यूरने, टीका लगाउने, बली चढाउने र प्रसाद बाँड्ने सबै संस्कार त्यही प्राचीन कृषि–सभ्यताको निरन्तरता हुन् ।
पूर्व कोशलका वैदिक कर्महरूमा देवी पूजन र भूमि पूजनको परम्परा थियो । दशमीका दिन भूमिदेवी र शक्तिदेवीको आराधना गरेर “अन्नबाली सप्रिरहोस्, जनजीवन समृद्ध रहोस्” भन्ने कामना गर्ने संस्कार अयोध्यापुरी कालदेखि चलिआएको हो ।
५. अयोध्यापुरीः दसैँको ऐतिहासिक जग
अयोध्यापुरीले दसैँलाई केवल धार्मिक उत्सव होइन, एक ऐतिहासिक र सांस्कृतिक स्मृति बनायो । नेपालका राजवंशहरूले त्यस परम्परालाई निरन्तरता दिए–लिच्छवीदेखि शाहकालसम्म दसैँ राजकीय पर्वका रूपमा स्थापित रह्यो ।
देवी दुर्गा, तलेजु भवानी पूजाका माध्यमबाट रामायणकालीन विजयादशमी परम्परा नेपाल राज्यको संस्थागत संस्कृति बन्यो । त्यसैले दसैँ नेपालका लागि धर्मभन्दा बढी इतिहास र आत्मपहिचानको पर्व हो ।
आज पनि नेपालका किसानहरू असोज महिनामा भूमि पूजन गर्छन्, धानको जमरा स्यूरन्छन र अन्नको टीका लगाउँछन् । यो परम्परा अयोध्यापुरीको आशीर्वाद हो, जसले दसैँलाई नेपाली आत्माको पर्व बनाएको छ ।
निष्कर्ष:
दसैँको ऐतिहासिक जग अयोध्यापुरीमै गाडिएको छ– जहाँबाट रामराज्यको आदर्श, भूमि पूजनको संस्कार र विजयको प्रतीक तीनै तत्व उठेका छन् । नेपालका पुराना वैदिक परम्पराले, लोकश्रुतिहरूले र जनविश्वासले अयोध्यापुरीलाई दसैँको हृदय भूमि बनाइदिएको छ । दसैँको मर्म बुझ्न अयोध्यापुरी बुझ्नुपर्छ किनकि त्यहीँबाट नेपालको संस्कृति, श्रद्धा र एकताको बीज उम्रिएको हो ।
हाल कपन काठमाडौँ