© २०२३
आज १२ औँ विश्व सहरीकरण दिवस ।
हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि यो दिवस मनाइने गरिन्छ । सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो ।
यो वर्ष सहरीकरणको चुनौती र अबको बाटो भन्ने नाराका साथ यो दिवस मनाउँदै गर्दा वास्तवमै सहरीकरण नेपालका लागि प्रमुख चुनौती बनेको छ । पहाडका गाउँ उजाड बन्दै गर्दा सहरमा बस्ती बढेको छ ।
सहरमा बस्ती बढ्दा आवश्यक भौतिक पूर्वाधारको अभाव सिर्जना भइरहेको छ । त्यसो त सहर भन्ने बित्तिकै सबैको मनमा ‘सुविधा सम्पन्न संसार’ आउँछ । तर, सहर आजको विश्वका लागि चुनौती बन्दै गएको छ । सहरमा सुविधासँगै अभाव सुरु भैसकेको छ ।
सहरीकरण भन्नाले एक स्मार्ट सिटी हरियो सहर बनाउने भन्ने मात्र पनि हैन, सामाजिक, आर्थिक, राजनैतिक आधारको खम्बा पनि हो भन्दा अत्युक्ति नहोला । सहरीकरणको चुनौतीहरूलाई सम्बोधन गर्न देश र सहरहरू बिचको सहयोग बढाउन र सहरी विकासको लागि योगदान पु¥याउन विश्व सहरीकरण दिवस मनाइने गरिएको हो ।
अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ । अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ । सहरलाई उत्कृष्ट सहरका रूपमा विकास गर्ने आधार तयार गर्ने र त्यहाँ बस्ने नागरिकको उत्कृष्ट जीवन हुनुपर्छ भन्ने सोचलाई मध्यनजर गरी सहरीकरण दिवसको अवधारणा बनेको हो ।
तर, जुन पवित्र उद्देश्य र भावनाले सहरीकरण दिवस मनाउन सुरु गरियो, आज त्यसमा चुनौती थप्ने काम भइरहेको छ । अर्थात् सहरीकरण आजको विश्वका लागि चुनौती बन्दै गएको छ । विश्वमै सबैभन्दा धेरै मानिस सहरी क्षेत्रमै बस्छन् । सहरी जीवन काकाकुल बन्दै गएको छ ।
कोलाहल सहरमै छ । फोहोर, दुर्गन्ध, दूषित हावापानी सहरको परिचय वनेका छन् । पछिल्लो रिपोर्टका अनुसार विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचिमा काठमाडौँ चौथो नम्बरमा आएको छ । यो दुःखद कुरा हो । काठमाडौँ पछिल्लो समय सहरीकरणको तीव्र चपेटामा परेको छ ।
सहरमा सम्पूर्ण सुख सुविधा हुन्छ भन्ने मान्यता अझै पनि छ । सहरमा सबैभन्दा गरिबी छ, अभाव छ, प्रदूषण छ । पछिल्लो समय सहरमा नहुने सुविधा गाउँमा पाउन सकिने भएको छ । पछिल्लो समय सुखमय संसार खोज्दै सहर झर्ने तर सहरमा अनेकौँ प्रताडना सहनुपर्ने अवस्था छ ।
सहर भन्ने बित्तिकै सुविधा सम्पन्न संसार हो भन्ने गलत धारणा विकास हुँदै गएको छ । अधिकांश सहरमा भू–उपयोग योजना अभाव र अव्यवस्थित निर्माणले भविष्यमा ठुलो समस्या निम्त्याउने देखिएको छ ।
सहरमा सडक, खानेपानी, ढल निकास, विद्युत् र सार्वजनिक यातायातजस्ता आधारभूत पूर्वाधार जनसङ्ख्याको अनुपातमा पर्याप्त छैनन् । वायु प्रदूषण, फोहोर मैला व्यवस्थापन समस्या र नदी अतिक्रमण तथा प्रदूषणले सहरको वातावरणीय स्वास्थ्यलाई जोखिममा पारेको छ ।
अर्कोतर्फ सहरमा आर्थिक असमानताले धनी र गरिबबिचको खाडल फराकिलो हुँदै गएको छ । शिक्षा र रोजगारी अभावमा ठुलो सङ्ख्यामा युवा विदेश पलायन भइरहेका छन् । जसले गर्दा सहरको विकासका लागि आवश्यक मानव संसाधन कमी भएको छ । नेपालले पछिल्लो समय बढ्दो सहरीकरणका कारण विभिन्न कठिनाइ भोग्दै आएको छ ।
तीव्र बसाइसराइको कारण गाउँ उजाड बन्ने तर सहरमा पूर्वाधार घट्दै जाने अवस्थाले सहरीकरण चिन्ताको विषय बन्ने अवस्था छ । यही लुम्बिनी प्रदेशको कुरा गर्दा पनि ५५.२ प्रतिशत जनसङ्ख्या नगरपालिका र ४८.८ प्रतिशत जनसङ्ख्या गाउँपालिकामा रहेको छ ।
पहाडबाट सहर झर्ने क्रम बढेसँगै लुम्बिनी प्रदेशका ३० वटा पहाडी क्षेत्रका पालिकाहरूको जनसङ्ख्या अघिल्लो जनगणनामा भन्दा घटेको छ । सहरीकरणको मारमा पछिल्लो समय पहाडी पालिकाहरू परेको यो उदाहरण हो ।
अबको केही वर्षभित्रै पहाडबाट सहर बसाई झर्ने तर सहरमा पनि पूर्वाधार नहुँदा पुनः पहाड फर्किनुपर्ने अवस्था आउन सक्ने सम्भावना बढ्दै गएको छ । तसर्थ सहरीकरणको चुनौती कसरी कम गर्ने भन्ने विषयमा अव सोच्नुपर्ने बेला आएको छ ।