© 2026
काठमान्डौ, १४ कार्तिक ।
मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि मौसममा सुधार हुने जनाएको छ । हिजोदेखि देशका धेरै स्थानमा निरन्तर झरी र हिमपात भइरहेकोमा, भोलिदेखि हालको वर्षा र हिमपात क्रम क्रमशः कम हुँदै जाने बताइएको छ ।
महाशाखाले जारी गरेको तीनदिने मौसमी बुलेटिनअनुसार आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ । रातिदेखि कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । सबैभन्दा बढी मोरङ, सप्तरी र झापामा वर्षा भएको महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार भोलि कोशी प्रदेशका थोरै ठाउँमा र मधेश, बागमती तथा गण्डकीका पहाडी भू–भागमा हल्का वर्षा हुने सम्भावना छ, तर ठूलो वर्षा पर्ने सम्भावना छैन । यस्तै, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
भोलि राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा छिटपुट वर्षा र हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । पर्सि दिनको पूर्वानुमान अनुसार कोशी प्रदेशका थोरै ठाउँ र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
