© २०२३
काठमाडौं, १४ कात्तिक ।
सरकारले भिजिट भिसा सम्बन्धी प्रावधान खुकुलो बनाएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसाका विद्यमान विभिन्न प्रावधान हटाई प्रक्रिया सहज बनाइएको हो ।
अध्यागमन विभागले पत्रकार सम्मेलन गर्दै भिजिट भिसामार्फत विदेश जान चाहने नेपाली नागरिकका लागि नयाँ व्यवस्था लागू भएको जानकारी दिएको छ ।
नयाँ प्रावधानअनुसार, भिजिट भिसाका लागि अब कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी हुनुपर्नेछ । सम्बन्धित देशको प्रवेशाज्ञा प्राप्त हुनुपर्नेछ, तर ‘अन-अराइभल भिसा’ सुविधा उपलब्ध मुलुकका लागि प्रवेशाज्ञा आवश्यक पर्ने छैन ।
साथै, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट, भ्रमण प्रयोजन पुष्टि गर्ने आवश्यक कागजात, र सो भ्रमणका परिणामप्रति स्वयं जिम्मेवार हुने स्वघोषणा अनिवार्य गरिएको विभागले जनाएको छ ।
यसअघि भिजिट भिसामार्फत विदेश जानेका हकमा न्यूनतम ५०० अमेरिकी डलर साथमा राख्नुपर्ने, दुईतर्फी हवाई टिकट, अग्रिम होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य थियो । तर, अबदेखि ती सबै प्रावधान हटाइएका छन् ।
अध्यागमन तथा भिजिट भिसासम्बन्धी विगतमा देखिएका समस्या समाधानका लागि सरकारले उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको थियो ।
समितिले नेपालको संविधानप्रदत्त नागरिकका मौलिक हक, मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने सुझाव दिएको थियो । साथै, स्वार्थ समूहका चलखेल रोक्ने र भिजिट भिसाको दुरुपयोग नियन्त्रण गर्ने सिफारिस समेत गरेको थियो ।
समितिको सिफारिसअनुसार अध्यागमन प्रशासनमा सुशासन र व्यावसायिकता प्रवर्द्धनका लागि हाल कार्यान्वयनमा रहेको ६ बुँदे मापदण्ड पुनरावलोकन गरी खारेज गरिएको विभागले जनाएको छ ।
सोही अनुसार १० माघ २०८० देखि लागू भएको ६ बुँदे मापदण्डसहित विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी सबै प्रावधान आजदेखि खारेज गरिएको छ ।
विभागले नयाँ व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने बताउँदै नेपाली नागरिकलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राबारे पूर्ण जानकारी लिएर निर्धक्क यात्रा गर्न आग्रह गरेको छ ।