© २०२३
काठमाडौं, १४ कात्तिक ।
नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन् ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको वृहत् राजनीतिक संवाद कार्यक्रममा बोल्दै चौधरीले आफूसहित लक्ष्मण थारु र धनिराम थारु लगायतले चुनाव लड्न नपाए देशमा पुनः चुनाव हुन नसक्ने जिकिर गरे ।
‘चुनाव रेशम थारू, लक्ष्मण थारू र धनिराम थारूले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु – यो देशमा फेरि चुनाव हुँदैन,’ चौधरीले भने । ‘सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? नेपाली कांग्रेस, नेकपा एमालेको इतिहास के थियो ? शेरबहादुर, ओली र प्रचण्डको इतिहास के थियो ? जेनजीको इतिहास के छ ?’
त्यस क्रममा उनले आफूलाई चुनाव लड्न नदिने भन्दै जनजाति उत्थान राष्ट्रीय जनमोर्चा (जेनजी)का अगुवा पुरुषोत्तम यादवले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।
‘अहिले चुनाव लड्न दिन्नँ भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो, नेता हुन दिन्नँ भन्छन् । देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी । अनि कलम चलाउनेले फैसला गरिदिने ? र त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ?’ चौधरीले प्रश्न गरे ।