Butwal Today

राप्ती प्रतिष्ठानमा २ सय ७७ बढी बिरामीको मिर्गौलाको पत्थरीको सफल अप्रेसन

१४ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

लमही ,१४ कार्तिक ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसँगै सेवा पनि प्रभावकारी बन्दै गएको छ ।

प्रतिष्ठानका युरोलोजिष्ट सर्जन डा. सुशिल खनियाँको नेतृत्वमा चिकित्सकहरू डा. विवेक थापा, डा. पङ्कज नेपालीसहित नर्स र स्वास्थ्य कर्मीहरूको टोलीले सानादेखि ठुला अप्रेसनहरू धमाधम गरिरहेको छ ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार युरोलोजिको ओपिडीबाट दैनिक ७० भन्दा बढी बिरामीहरूले परामर्शसहितको स्वास्थ्य सेवा लिएका छन् ।  गएको जेठदेखि असोज मसान्तसम्म २ सय ७७ जना बिरामीले युरोलोजी सेवा लिएका हुन ।

युरोलोजि सेवा जिल्लामा नहुँदा बिरामीहरू सामान्यदेखि विशिष्टकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता यसअघि भए पनि प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहितको उक्त सेवा बिस्तार भएपछि अहिले त्यो समस्याको समाधान भएको छ ।

युरोलोजिष्ट सर्जन डा. खनियाका अनुसार  १ सय ५७ जना मिर्गौलामा भएको पत्थरीका बिरामीको गम्भीर प्रकृतिको अप्रेसन भएको छ भने मध्यम खालको २२ जना र ९९ जना बिरामीको सामान्य अप्रेसन गरिएको छ ।

युरोलोजी सेवाअन्तर्गत पिसाब

सम्बन्धी सबै, प्रोष्टेड र  मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्त थैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्न सक्ने डा. खनियाले बताए ।

अस्पतालमा युरोलोजि सेवा लिनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थीले युरोलोजी सेवा अहिले धेरै नै प्रभावकारी भएको जनाउँदै स्थानीय स्तरमै सहज रुपमा विशेषज्ञ सेवा प्राप्त गर्न पाउँदा बिरामीहरूले खुसी व्यक्त गर्ने गरेको बताए ।

खनिया राप्ती प्रादेशिक अस्पतालमा धेरै समयदेखि युरोलोजि सेवा दिएका थिए । उनी लामो समयदेखि युरोलोजी सेवा दिएको अनुभवी चिकित्सक हुन् ।