© २०२३
काठमान्डौ, १४ कार्तिक ।
सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गरी यस्तो प्रावधान राखिएको हो ।
नियमावलीअनुसार, अनलाइन सञ्चारमाध्यम दर्ता गर्न चाहनेले ५ हजार रुपैयाँ शुल्कसहित आवेदन दिनुपर्नेछ । दर्ता भएका सञ्चारमाध्यमहरू प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने र नवीकरण गर्दा प्रत्येक पटक २ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
साथै, यस नियमावलीले अघिल्ला पत्रपत्रिका तथा सञ्चारमाध्यमहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता हुने व्यवस्था हटाएर, अब सूचना तथा प्रसारण विभागमार्फत दर्ता र नियमन हुने व्यवस्था सुनिश्चित गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी संशोधित नियमावली कार्यान्वयनमा ल्याएको छ ।