Butwal Today

शेखर-गगन र विश्वप्रकाशबीच भेटवार्ता

१४ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १४ कार्तिक ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूसँग छलफल गरेका छन् ।

कोइरालाको सम्पर्क कार्यालय, विशालनगरमा आज बिहान भएको बैठकमा पदाधिकारीहरू सहभागी थिए । नेताहरूबीचको छलफलमा पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा केन्द्रित भएको सचिवालयले जनाएको छ ।

बैठकमा कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय थापा–शर्मा, सहमहामन्त्री जीवन परियार र बद्रीप्रसाद पाण्डे सहभागी थिए । यसअघि सभापति शेरबहादुर देउवा पक्षले चुनावअघि महाधिवेशन असम्भव भएको र विशेष महाधिवेशनमा पनि जान नसकिने बताउँदै आएका थिए। महामन्त्री थापा बिहीबारको केन्द्रीय समितिको बैठकमा अनुपस्थित रहेका थिए ।

कांग्रेसमा मंसिरभित्रै नियमित महाधिवेशनको माग तीव्र रूपमा उठिरहेको छ । यसैक्रममा, असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसमेत बुझाएका थिए ।