© २०२३
काठमान्डौ, १४ कात्तिक ।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी पुनर्गठनको घोषणा गरेका छन् ।
शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत माओवादी केन्द्रसहितका दलसँग पार्टी एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि नेता खनालले सो घोषणा गरेका हुन् ।
अध्यक्ष नेपालले एमालेबाट अलग भएर गठन गरेको पार्टीलाई अन्ततः माओवादी केन्द्रमा विलय गर्न खोजेको आरोप खनालले लगाएका छन् । उनले भने, “विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुंगिएको छ। हामी यही पार्टीका साथीहरू मिलेर नेकपा एकीकृत समाजवादी पुनर्गठन गर्छौँ, आवश्यक परे नयाँ पार्टी पनि बनाउँछौँ ।”
बैठकमा आफूलाई बोल्न नदिई माइक काटिएको भन्दै खनालले अध्यक्ष नेपालमाथि तानाशाही प्रवृत्ति प्रदर्शन गरेको आरोप लगाए । उनी बोल्ने क्रममा विवाद चर्किएपछि बैठक हलमा होहल्ला मच्चिएको थियो । त्यसपछि अध्यक्ष नेपाल बैठक सकियो भन्दै बाहिरिएका थिए।
विवादबीच पनि अध्यक्ष नेपाल पक्षले अघि सारेको एकताको प्रस्ताव पारित भएको छ । उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार अब माओवादी केन्द्र, नेसपासहितका अन्य दलहरूलाई समेटेर नयाँ एकीकृत पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता गरिने तयारी भइरहेको छ ।