© २०२३
समाचार सारांशमा
बर्दियाका २८ वर्षीय अरुण गुरुङ ‘जेनजी आन्दोलन’ मा सहभागी हुन काठमाडौँ गएका थिए ।
आन्दोलनमा सहभागी भएपछि उनी लामो समयदेखि सम्पर्कविहीन भएका छन् ।
दुई महिनादेखि परिवारसँग कुनै सम्पर्क छैन र उनको मोबाइल फोन तथा सामाजिक सञ्जाल सबै निष्क्रिय छन् ।
बर्दिया, १४ कार्तिक ।
जेनजी आन्दोलनमा सक्रिय रहेका बर्दियाका २८ वर्षीय अरुण गुरुङ सम्पर्कविहीन छन् । राजधानी काठमाडौँमा चलिरहेको आन्दोलनमा सहभागी हुन गएका उनीबाट लामो समयदेखि परिवारजनले कुनै खबर पाएका छैनन् ।
प्रशासन र प्रहरीको खोजी अहिलेसम्म निष्कर्षमा पुगेको छैन । समय बित्दै जाँदा आमा चिन्तित भएकी छिन् । बढैयाताल गाउँपालिका–२ फुटहा निवासी अरुण गुरुङ सानै उमेरदेखि श्रममा निर्भर थिए ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले विद्यालय छोडेपछि उनी कामको खोजीमा काठमाडौँ पुगे । त्यहाँ उनले विभिन्न होटेल र रेष्टुरेन्टमा काम गर्दै जीवन धाने । आफ्ना साथीहरूबिच मेहनती र आत्मविश्वासी युवकको छवि बनाएका अरुण हरेक वर्ष दसैँ–तिहारमा गाउँ फर्किन्थे, तर पछिल्ला दुई वर्षदेखि घर फर्किएका थिएनन् ।
उनका आमा आशा गुरुङ भन्छिन्, “उनी सानैदेखि मेहनत गर्थे । परिवारलाई केही गर्नुपर्छ भन्ने सोच्थे । अब कहाँ गए, के भयो — केही थाहा छैन ।” गत वर्षको अन्त्यतिर सामाजिक सञ्जालमार्फत अरुणले ‘जेनजी आन्दोलन’ नामक समूहसँग सम्पर्क बढाएका थिए । यो आन्दोलन युवा चेतना, रोजगार, र सामाजिक न्यायका मुद्दाहरू उठाउँदै आएको थियो ।
साथीहरूले उनलाई पनि आन्दोलनमा सामेल हुन प्रेरित गरे । उनी काठमाडौँको बालाजु क्षेत्रस्थित एउटा समूहसँग नियमित बैठकमा सहभागी हुन थाले । “उनी भन्थे, ‘आमा, देशका लागि केही गर्नुपर्छ ।’
मलाई त खुसी लाग्थ्यो, छोरा सचेत भएको देखेर तर आन्दोलनमा गएकै दिनदेखि सम्पर्क टुट्यो ।” आन्दोलन सुरु भएको दुई सातापछि नै उनका मोबाइल फोन बन्द भयो । फेसबुक, इन्स्टाग्राम र अन्य सामाजिक सञ्जाल पनि निष्क्रिय छन् ।
“अन्तिम पटक उनीसँग काठमाडौँमा कुरा भएको थियो । आन्दोलनमा ठुलो सभा तयारी भइरहेको भन्दै व्यस्त थिए । त्यसपछि सम्पर्क हुन सकेन ।” अरुण हराएको पीडा झेल्दै आएकी आमा आशा गुरुङमाथि अर्को ठुलो बोझ पनि छ ।
अरुणकी दिदी लक्ष्मी गुरुङ हाल भारतको दिल्लीमा बलात्कार मुद्दामा कारागारमा छिन् । अदालतले उनलाई जमानतमा रिहा हुन लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ । तर परिवार आर्थिक रूपमा अत्यन्त कमजोर छ ।
उनको बाबु वर्षौँअगाडि भारतमै रोजगारीको क्रममा मृत्यु भएको थिए । “एक छोरी जेलमा, छोरो हरायो । म एक्ली कहाँ जाऊँ ? खानको जोहो छैन, नातेदार पनि कोही सघाउने छैन ।” फुटहास्थित उनीहरूको घर पनि पुरानो माटोको झुप्रो हो । खेत छैन, आयस्रोत छैन । गाउँलेहरूका अनुसार आशा कहिलेकाहीँ अरूको घरमा काम गरेर गुजारा चलाउँछिन् ।
बर्दिया जिल्ला प्रहरी कार्यालयका अनुसार “अरुण गुरुङ सम्पर्कविहीन भएको उजुरी २ महिना अघि प्राप्त भएको हो । उनी काठमाडौँतिर गएका थिए भन्ने विवरण छ । खोजतलासका लागि राजधानी प्रहरीसँग पनि समन्वय गरिएको छ ।” तर हालसम्म कुनै ठोस प्रमाण वा सुराग भेटिएको छैन । प्रहरीले नेपालभरका नाका, बसपार्क, अस्पताल र आश्रय स्थलहरूमा सूचना पठाएको बताएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख प्रमुख जिल्ला अधिकारी रामबहादुर भण्डारीले भने, “यो मानवीय विषय हो । आमाको दुःख बुझ्छौँ । खोजी प्रक्रिया अघि बढाइरहेका छौँ । आवश्यक सहयोगका लागि महानगरीय प्रहरीसँग सम्पर्कमा छौँ ।”
जेनजी आन्दोलन अहिले पनि सामाजिक सञ्जालमा चर्चामा छ । देशभरका युवाहरूले बेरोजगारी, महँगी, र असमानताको विरोधमा आवाज उठाउने क्रम सुरु गरेका छन् । तर यस आन्दोलनमा संलग्न केही युवाहरू पछिल्लो समय बेपत्ता, गिरफ्तार, वा धम्कीमा परेका छन् भन्ने आरोप पनि उठेका छन् ।
राजधानीस्थित मानव अधिकारकर्मी सीता बस्नेत भन्छिन्, “सरकारले आन्दोलनलाई नियन्त्रणको दृष्टिले मात्रै हेर्दा समस्या बढ्छ । युवाहरूको आवाजलाई सुन्ने संवेदनशील दृष्टिकोण लिनुपर्छ । अरुणजस्ता युवाको बेपत्तापनले आम नागरिकको मनोबल घटाउँछ ।”
उनका अनुसार, पछिल्ला केही महिनामा जेनजी आन्दोलनका पाँच सदस्यहरू विभिन्न कारणले सम्पर्कविहीन भएका छन् । जसको आधिकारिक विवरण राज्य निकायसँग छैन । अरुणको घर पुग्दा आमाको मुटु बोलीभन्दा बढी बोल्छ ।
उनको हातमा पुरानो मोबाइल छ जसमा अरुणको तस्बिर छ । आशा भन्छिन्, “हरेक बिहान छोराको तस्बिर हेरेर रुन्छु कहिले फोन आउला भनेर मोबाइल चार्जमा राख्छ ।” राजधानी काठमाडौँमा गत वर्षदेखि ‘जेनजी’ नामको आन्दोलनले चर्चा पाएको थियो ।
यस आन्दोलनका नेताहरूले आर्थिक पारदर्शिता, शिक्षा सुधार, र रोजगार अवसरका माग राख्दै आएका थिए । सुरक्षा निकायका अनुसार केही प्रदर्शनहरू अनुमति बिना भएका कारण नियन्त्रणमा लिइएका थिए ।
उनकी दिदी लक्ष्मी दिल्लीमा ३ वर्षदेखि जेलमा छिन् । उनको केसमा आवश्यक कानुनी सहयोग गर्न कोही नजिकका व्यक्ति नभएको कारण उनले अझै पनि स्वतन्त्रता पाउन सकेकी छैनन् ।
फुटहाका युवाहरूले अरुणको खोजीका लागि सामाजिक सञ्जालमा अभियान चलाएका छन् । नेपालमा हरेक वर्ष सयौँ नागरिक विभिन्न कारणले सम्पर्कविहीन हुन्छन् ।
कतिपय रोजगारीका लागि विदेश गएर हराउँछन्, कतिपय राजनीतिक वा सामाजिक आन्दोलनका क्रममा बेपत्ता हुन्छन् । मानव अधिकार आयोगका अनुसार, पछिल्ला दुई वर्षमा ६ सय भन्दा बढी नागरिक बेपत्ता भएका विवरण दर्ता भएका छन् ।
उनले छोराको खोजी गर्न प्रशासनलाई पुनः अनुरोध गरेकी छन् ।