© २०२३
काठमान्डौ, १४ कार्तिक ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचनअघि नै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
नेता डा. शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको बैठकले २१ फागुनको निर्वाचनअगावै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने निर्णय गरेको हो ।
‘नियमित महाधिवेशन निर्वाचन अगाडि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र गरिसक्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ विशाल नगर बैठकमा सहभागी एक नेताले भने, ‘पुस १६ मा महाधिवेशनको मिति तोक्ने गरी भनेका छौं ।’
इतर समूहले महाधिवेशन कार्यतालिका तयार पार्ने जिम्मेवारी महामन्त्रीद्वयलाई दिने निर्णय पनि गरेको छ । बैठकका अनुसार पुस १६ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउने र कार्यवाहक सभापतिसँग समन्वय गरेर आजकै बैठकमा प्रस्ताव पेस गर्ने सल्लाह भएको छ ।
बैठकमा कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत नेताहरू सहभागी थिए ।