© २०२३
चन्द्राैटा, १४ कार्तिक ।
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री जानकी प्रसाद यादवले वन र मान्छेबिचको सम्बन्ध अविभाज्य रहेको बताएका छन् ।
कपिलवस्तुको विजयनगरमा उज्जलपुरमा रहेको गाैतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १०औँ साधारण सभालाई सम्बोधन गर्दै उनले बताएका हुन् ।
बिहीबार खडैचामा बोल्दै मान्छे र दुवै एक-अर्काको पूरक भएको जनाउँदै उनले भने : “वन जोगाउन सके हामीले वातावरण, पानी र जीवन जोगाउन सक्छौँ । वृक्षारोपण गर्नु केवल सरकार वा वन कार्यालयको जिम्मेवारी होइन, यो हरेक नागरिकको कर्तव्य हो ।
यादवका अनुसार आफू साझेदारी वनको अध्यक्ष हुँदा धेरै अतिक्रमित क्षेत्र फिर्ता गराउने काम गरेको दाबी गरे । वन अतिक्रमणले केवल भूमि होइन, हाम्रो भविष्य पनि हरण गर्छ । त्यसैले सबै मिलेर हरित बनाउने उनको भनाइ छ ।
यसैबिच विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले संरक्षण र विकासका लागि वन र गाउँपालिकाले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै बनसँग साझेदारी गर्न तयार रहेको बताए ।
जलवायु परिवर्तनका कारण दिनप्रतिदिन मानवीय जीवनमा असर पर्दै गएकाे हुँदा सबैले बन संरक्षण अभियानमा लाग्नुपर्नेमा जोड दिए ।
यसै गरी डिभिजन वन कार्यालयका सिनियर वन अधिकृत महेन्द्रराज वाग्ले प्रदेशको कानुन अनुसार राष्ट्रिय वनलाई व्यवस्थापन गर्दै बढिरहेको बताए ।
वनकाे संरक्षण र विकासमा सबै जिम्मेवारी भई आफ्ना कर्तव्य निर्वाह गर्नुपर्ने आवश्यकता भएको उनले बताए । २ सय ८८ हेक्टर क्षेत्र बन अतिक्रमण भएको जिकिर अधिकृत वाग्लेले बताए ।
यस्तै गाैतमबुद्ध साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानले पुनरुत्पादन कटान प्लटसहित विभिन्न स्थानमा १६.३४ किलोमिटर तारबार, ८०.२४ किलो मिटरमा अग्नि रेखा निर्माण तथा मर्मत स्तरोन्नति र अतिक्रमण व्यवस्थापनका लागि विभिन्न ठाउँमा ७२.६२ हेक्टरमा काँडे तारबार सहित वृक्षारोपण बताए ।
वन उपभोक्ता समूहकी उपाध्यक्ष सीमा अर्यालले आर्थिक २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतिसँगै आगामी कार्य योजनालाई वनले कार्यान्वयनमा जोड दिएको जिकिर गरिन् ।