Butwal Today

विदेशमा रहेका नेपालीलाई मताधिकार सम्बन्धीे गृहको मस्यौदा निर्वाचन आयोगमा

१४ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १४ कार्तिक ।

विदेशमा रहेका नेपाली नागरिकले सम्बन्धित देशबाट मतदान गर्न पाउने व्यवस्था गर्न गृह मन्त्रालयले पेश गरेको प्रस्तावमाथि निर्वाचन आयोग छलफलमा जुटेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा आयोग सकारात्मक रहेको आयोगका अधिकारीहरूले भनेका छन् । एक अधिकारीका अनुसार,

“सकारात्मक जवाफ नै पठाउँदैछौं । विदेशबाट मतदान गर्न पाउने कानुनी व्यवस्थामा आयोग सकारात्मक छ ।”

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, गृह मन्त्रालयले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने उद्देश्यले चारवटा प्रचलित ऐन संशोधनको मस्यौदा आयोगमा पठाएको छ । यसमा छलफल भइरहेको छ ।

गृह मन्त्रालयले संशोधनका लागि प्रस्ताव गरेका ऐनहरूमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐन छन् ।

यी ऐनहरूमा आवश्यक व्यवस्था राखेर विदेशमा रहेका नेपालीले आफ्नो देशबाट मतदान गर्न पाउने कानुनी पूर्वाधार तयार गर्ने लक्ष्य राखिएको छ ।

तर, कुन देशका मतदाताले मतदान गर्न पाउने, खर्च व्यवस्थापन, कर्मचारी व्यवस्थापन, र सुरक्षा जस्ता विषयमा अझै विस्तृत छलफल हुन बाँकी रहेको छ । गृह मन्त्रालयका एक अधिकारीले भने, “कानुनी व्यवस्था भएपछि अन्य विषयहरू अगाडि बढ्ने छन् । आवश्यक तयारी गृहले अघि बढाइरहेको छ ।”

गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख एवं सहसचिव भरतमणि रिजालले पनि आयोगबाट मस्यौदामा जवाफ आएपछि थप छलफल गरी प्रक्रिया अघि बढाइने बताएका छन् ।

गृह मन्त्रालयका अनुसार, कानुनी प्रबन्ध भएपछि विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका सबै कार्य निर्वाचन आयोगले बनाउने कार्यविधि अनुसार संचालन हुनेछ ।