© २०२३
काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फतै निर्वाचनमा जाने विकल्प नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारेको बेला उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश “डरलाग्दो सुरुङमा” फस्ने चेतावनी दिंदै संविधानमा टेकेर दलहरूले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए ।
उनका अनुसार, वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा रहेका कमीहरू हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतर्फ अघि बढाउन आवश्यक छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरूले अघि बढ्दा मात्रै उपयुक्त परिणाम आउने उल्लेख गरे ।
उनले भने, “अब निर्वाचन त हामीले जसरी पनि गर्नुपर्छ । कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, सुशीला कार्की नेतृत्वको जुन सरकार छ, त्यसका अपूर्णता, कमी र कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं । तर यसैमार्फतै छिटो चुनाव गराउने दिशामा जानुपर्छ ।
त्यसका लागि हाम्रा अलगअलग दल छन् । अलग-अलग दलले पनि चुनावमा जान सकिन्छ । रास्वपाका साथीहरूलाई हामी एक्लै जान सक्छौं भन्ने आधारहरू पनि छन् ।”
भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउन सम्बन्धित निकायलाई बलियो बनाएर अघि बढ्नुपर्ने पनि स्पष्ट पारे ।