Butwal Today

कसैको दबाब वा प्रभावमा गृहमन्त्री हटाइँदैन : प्रधानमन्त्रीको सचिवालय

१३ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, १३ कार्तिक ।

प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने विषयमा आएको समाचार असत्य र भ्रमपूर्ण भएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको दबाबमा गृहमन्त्री अर्याललाई हटाउन लागिएको भन्ने विभिन्न सञ्चारमाध्यमका समाचारहरू आधारहीन र भ्रामक रहेको उल्लेख गरिएको छ ।

‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन’, विज्ञप्तिमा भनिएको छ ।

जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप वर्तमान सरकार गठन भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले अहिलेको असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेका उल्लेख गरेको छ ।

संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र नपत्याउन पनि उनले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।