© २०२३
काठमाडौँ ।
नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीचका द्विपक्षीय हित, सहयोग र मित्रताका विषयमा विचार आदानप्रदान गरिएको थियो । प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेट हो ।
यस क्रममा राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै, जर्मनी नेपालका प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न सधैं तत्पर रहने जानकारी दिए । जवाफमा प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताइन् ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले नेपाली राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँगको सम्झौतामा मितिअगावैदेखि नै छपाइका तयारी सुरु गर्न आवश्यक पहल गर्न अनुरोध गरिन् । उनले नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाहका लागि यस कार्यमा जर्मन पक्षको सहयोगको अपेक्षा व्यक्त गरिन् ।
जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट सम्बन्धित कम्पनीलाई तत्काल अनुरोध गरी, राहदानी छपाइ प्रक्रिया छिटो सुरु गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, तथा अन्य कूटनीतिक अधिकारीहरूको उपस्थिति रहेको थियो ।