© २०२३
काठमाडौँ ।
सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ ।
बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा तोकिएको पेशी जोशीका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको हो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनअनुसार आफ्नो हिस्साको बिगो रकम बुझाए पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।
जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए । यसअघि सहकारी ठगीसम्बन्धी बिगो बमोजिम रकम बुझाएर थुनामुक्त हुन पाउन दायर गरिएको निवेदनमा उच्च अदालतले रवि लामिछाने र छविलाल जोशी दुवैको मुद्दा संयुक्त रूपमा हेर्ने आदेश दिएको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछानेले उक्त रकमको चार भागमध्ये आफ्नो हिस्साको बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा बुझाएको कागजात पेस गरेका थिए ।
जोशीले पनि त्यति नै रकम बराबरको जमानत पेस गरेका थिए । तर दुवैको हकमा उनीहरूको व्यक्तिगत भागमा कति बिगो पर्ने भन्ने स्पष्ट नभएकाले अदालतले रिहा गर्न नमिल्ने आदेश दिएको थियो ।
हाल पुर्पक्षका लागि दुवै जना कारागारमा छन् । भैरहवास्थित कारागारमा रहेका लामिछानेलाई हाल ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी भैरहवा कारागारमै रहेका छन् ।