© २०२३
काठमाडौं, १३ कात्तिक ।
बिहीबार सेयर बजार २६०० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३४.२२ अंकले बढेर २६००.३८ मा कायम भएको हो ।
कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५१ करोड पुगेको छ । आज हिमालयन बैंकको संस्थापक सेयरमात्रै १ अर्ब ६६ करोडको कारोबार भएकाले कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो ।
कुल २१६ कम्पनीको मूल्य बढ्यो भने २८ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको मूल्य स्थिर रहेको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.६७ प्रतिशतले बढेको छ ।
बैंकिङ ०.३३, विकास बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, लगानी १.३५, जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.७४, माइक्रोफाइनान्स १.६०, निर्जीवन बीमा १.७५, अन्य १.०६ र व्यापार ०.८८ प्रतिशतले बढेका छन् ।
गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । सुपर मादी हाइड्रोपावरको मूल्य ९.५४, गणपति लघुवित्त ९.४६ र पिपुल्स हाइड्रोपावर ९.०८ प्रतिशतले बढेका छन् ।
आशा लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.७९ प्रतिशतले घटेको छ । उपकार लघुवित्त ३.९६ र हिमालयन पावर पार्टनर ३.७५ प्रतिशतले घटेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन बैंक संस्थापक, राधि विद्युत्, नेपाल पुनर्बीमा, साहस ऊर्जा र बुटवल पावर कम्पनी रहेका छन् ।