Butwal Today

खनालद्वारा माधव नेपाललाई अध्यक्ष पदबाट राजीनामा दिन आग्रह

१३ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

खनालले जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै भ्रष्टाचार मुद्दा लागेकाले अध्यक्ष पद छोड्नुपर्ने धारणा व्यक्त गरेका हुन् । खनालले बैठकमा भने, “हाम्रो अध्यक्षलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ । उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ ।”

माधव नेपाल पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । यसअघि पनि पार्टीभित्र कतिपय नेताहरूले उनलाई पद छोड्न दबाब दिइसकेका थिए ।

साथै, खनालले नेकपा माओवादीसँगको एकताको पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले भने, “अहिले हाम्रो पार्टी माओवादीसँग एकता गर्ने हो भने एमालेसँग विद्रोह गरेको जायज थियो भन्ने पुष्टि हुँदैन ।”

खनालले बैठकमा माओवादीसँग एकता गर्दा जनयुद्धको क्रममा ज्यान गुमाएका सदस्यहरूको जिम्मा लिन नसकिने पनि बताएका छन् ।