© २०२३
काठमान्डौ, १३ कार्तिक ।
नेपाल विद्युत् प्राधिकरणले भारतमा २८३ मेगावाट विद्युत् निर्यात अनुमतिको नवीकरण स्वीकृति प्राप्त गरेको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले बुधबार नेपालका आठ विभिन्न जलविद्युत् आयोजना मार्फत उत्पादित विद्युत् निर्यातका लागि यसअघि दिइएको स्वीकृतिलाई पुनः नवीकरण गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपतपछि बाँकी रहेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे-अहेड र रियल टाइम मार्केट मार्फत प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । साथै, द्विपक्षीय मध्यकालीन विद्युत् सम्झौता अनुसार हरियाणा र बिहार राज्यमा पनि निर्यात भइरहेको छ । भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा समेत विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ ।
आईएक्समा प्रतिस्पर्धी बजारमार्फत विद्युत् बिक्री गर्न स्वीकृति पाएका चार आयोजनाको अनुमति नवीकरण भएको छ । ती आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् को निर्यात स्वीकृति विभिन्न मितिमा समाप्त भएको थियो, जसलाई हाल एक वर्षका लागि पुनः नवीकरण गरिएको छ ।
त्यसैगरी, हरियाणा राज्यलाई द्विपक्षीय सम्झौता अन्तर्गत बिक्री भइरहेका १८० मेगावाट विद्युत् को अनुमति बिहीबार सकिँदैछ । यसअघि हरेक वर्ष जुनदेखि अक्टोबरसम्म हरियाणामा विद्युत् आपूर्ति हुँदै आएको छ । अब यी आयोजनाबाट उत्पादित विद्युत् आईएक्समार्फत पनि बिक्री गर्न अनुमति दिइएपछि शुक्रबारदेखि निरन्तर रूपमा भारतीय बजारमा निर्यात सुरु हुने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ ले यस प्रक्रियालाई सहज बनाउन सक्रिय पहल गरेका थिए । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ महासभामा सहभागी हुन भारत भ्रमणका क्रममा उनले भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर सँग भेटवार्ता गरी निर्यात स्वीकृति प्रक्रियालाई सरलीकृत गर्न आग्रह गरेका थिए ।
मन्त्री घिसिङले नेपालमा विद्युत् उत्पादनको उच्च सिजन चलिरहेका बेला नवीकरण प्रक्रिया ढिलो हुँदा निर्यात प्रभावित हुन सक्ने बताउँदै तत्काल स्वीकृति दिन आग्रह गरेका थिए । सोही अनुरोधपछि भारतले नेपालका आयोजना मार्फत विद्युत् निर्यात स्वीकृतिको नवीकरण दिएको प्राधिकरणले जनाएको छ ।